केवल टेलिभिजन व्यवसायीहरुको माग सम्बोधन गर्ने उर्जामन्त्रीको भनाई

  • Technology Khabar | १३ आश्विन २०७८, बुधबार
केवल टेलिभिजन व्यवसायीहरुको माग सम्बोधन गर्ने उर्जामन्त्रीको भनाई

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रका समस्या राज्यले द्विपक्षीय संवादद्वारा हल गर्ने विश्वास दिलाएकी छन्।

केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै मन्त्री भुसालले समग्र निजी क्षेत्रलाई विश्वासमा लिएर नै विकासका गतिविधि अगाडि बढाउने सरकारको नीति भएको स्पष्ट पारिन्।

उनले केवल टेलिभिजन व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाईन् । बुधबार केवल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केवल टेलिभिजन व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने बताएकी हुन्।

उनले सञ्चारलाई गाउँ गाउँमा पुर्याउनु पर्ने काम निजी क्षेत्रले पनि गरिरहेको उल्लेख गरिन् । “समग्र विकास राज्य, निजी क्षेत्र र सहकारीको परिचालनबाट गर्ने भनेर हामीले संविधानमै उल्लेख गरेका छौँ । त्यसको भरपर्दोरूपमा राज्यले अख्तियार गर्छ”, मन्त्री भुसालले भनिन्, “यहाँहरूका पेशागत जीवनमा परेका समस्यालाई राज्यले सकारात्मक ढङ्गले ग्रहण गर्नेछ।”

मन्त्री भुसालले सूचना सञ्चार क्षेत्रमा भएका विकास हामीले जीवन व्याहारमा अभ्यास गर्न पाएको अधिकारलाई कतै पनि न्यूनीकरण गर्न नहुने स्पष्ट गरिन् ।
मन्त्री भुसालले भनिन्, “आन्दोलनबाट प्राप्त गरेको महत्वपूर्ण हक सूचना र सञ्चारको हो। यो अधिकार स्थापित गर्न सञ्चारकर्मीमा महत्वपूर्ण भूमिका रहेको छ।”

उनले विद्युत प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताइन् ।

कार्यक्रममा व्यवसायीले पोलको भाडा बढाएका र राज्यका नीतिगत विषयले आफ्नो व्यवसाय अप्ठ्यारोमा परेको भन्दै गुनासो गरेका थिए ।

प्रकाशित: १३ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...