डिजिटल रुपान्तरणका निम्ति विभिन्न देशका विशेषज्ञहरुसित  क्यान महासंघको अन्तरक्रिया

  • Technology Khabar | ११ आश्विन २०७८, सोमबार
डिजिटल रुपान्तरणका निम्ति विभिन्न देशका विशेषज्ञहरुसित  क्यान महासंघको अन्तरक्रिया

काठमाडौं ।

कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले नेपालको डिजिटल रूपान्तरणमा सघाउ पुर्याउने उद्देश्यले नेपाल सहित एशिया-ओशिनिया क्षेत्रका मलेशिया, अस्ट्रेलिया, सिंगापुर, जापान लगायतका विशेषज्ञहरुसित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नेपालका विशेषज्ञहरु काठमाण्डौको सोल्टि होटेलमा भौतिक रुपमा उपस्थित भएर तथा अन्य मुलुकका विशेषज्ञहरु भर्चुवल माध्यम मार्फत उपस्थिति जनाएर कार्यक्रम सम्पन्न भएको हो ।

“नलेज एक्स्चेञ्ज अन डिजिटल ट्रान्सफर्मेशन” विषयक कार्यक्रमको प्रमुख अतिथि तथा बक्ताको रुपमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सुचना तथा सञ्चार प्रविधिको विकाश तथा यस मार्फत भएको रुपान्तरणले बढाएको पारदर्शिताका बारेमा  प्रकाश पारेका थिए। साथै उनले वित्तीय क्षेत्रमा सुचना तथा सञ्चार प्रविधिको प्रयोग, त्यसका निम्ति नेपाल राष्ट्र बैंकले खेलेको नेतृत्वदायी भुमिका र नितिगत ब्यबस्था तथा पुर्वाधार विकासका बारेमा आफ्नो धारणा राखेका थिए । मिश्रले नेपाल राष्ट्र बैंकले नवपर्वतनहरुलाई स्विकार तथा प्रयोगका निम्ति सदैब उत्साह प्रदान गरेको, वित्तिय क्षेत्रमा सुरक्षित एवं बिश्वसनिय डिजिटल रुपान्तरणका निम्ति आवश्यक पर्ने कानुनी, प्रक्रियागत, संस्थागत तथा प्राविधिक पुर्वाधारहरुको विकास गरेको कुरा पनि बताए।

कार्यक्रममा, सेन्ट्रल बैंक डिजिटल करेन्सी (CBDC)को संभावनाको बारेमा नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको पनि उनले जानकारी दिए। साथै वित्तिय क्षेत्रको डिजिटल रुपान्तरणको निम्ति प्रविधिको विकास संगै मानव संसाधनको विकाश पनि हुनुपर्ने एवं भोलिका दिनमा साइबर सुरक्षा सबैभन्दा ठुलो चुनौति हुने सक्ने र त्यस्का निम्ति क्यान महासंघको भुमिका सबैभन्दा महत्वपुर्ण हुने उनको धारणा थियो ।

क्यान महासंघका अध्यक्ष नवराज कुँवरले कार्यक्रमको उदघाटन सत्रमा आफ्नो मन्तब्य राख्दै अन्तर्राष्ट्रियस्तरमा भएका उत्कृष्ट अभ्यासबारे ज्ञान आदानप्रदान गर्न, यस क्षेत्रमा डिजिटल अर्थतन्त्रको भविष्य निर्धारण गर्न तथा अर्थ-सामाजिक संभावनाको रोडम्यापबारे भिजन निर्माण गर्न सघाउनेजस्ता लक्ष्य लिएर कार्यक्रम गरिएको बताए।

कार्यक्रममा – प्रत्यक्ष रुपमा करिव सय जना तथा भर्चुवल माध्यमबाट हजार जना भन्दा बढि सरकारी प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, सुचना तथा संचार प्रविधि सम्बन्धि संस्था, नीति निर्माताका एवं गैरसरकारी संस्था, टेलिकम सेवा प्रदायक, बैंकिंग र वित्तीय संस्थाका प्रतिनिधि तथा प्राज्ञहरुको उपस्थिति रहेको थियो ।

“एडोप्टिङ्ग डीजिटल ट्रान्सफर्मेसन – प्राक्टिसेस एण्ड च्यालेन्जेज” विषयक उद्घाटन सत्रमा एसियन ओसिनियन कम्प्युटिङ् इण्डष्ट्रि अर्गनाइजेसन – असोसियोका अध्यक्ष डेविड वङ्ग, नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा र डिस मिडिया नेटवर्क लिमिटेडका प्रवन्ध निर्देशक सुदिप आचार्यले डिजिटल नेपाल फ्रेमवर्क, डिजिटल अर्थतन्त्र र यसका निम्ति आवश्यक पर्ने पुर्वाधार एवं मानव संसाधन, साईबर सुरक्षा, फिनटेक र उदाउँदा प्रविधि, डिजिटल रुपान्तरणका अभ्यास, मापदण्ड तथा चुनौति तथा चुनौति समाधानका निम्ति अपनाउनु पर्ने नितिगत ब्यबस्था लगायतका विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रमको दोश्रो सत्रमा “फिन्टेक फर डिजिटल ट्रान्सफर्मेसन इन नेशनल एण्ड इन्टर्नेशनल पर्सपेक्टिभ” विषयमा अष्ट्रेलियन इन्फर्मेशन इण्डष्ट्रि एसशोसिएशनका प्रमुख कार्यकारी अधिकृत रोन गौसी, आइ.एम.इ पे का प्रमुख कार्यकारी अधिकृत विकाश नाहटा तथा अडेरा ग्लोबल प्रा. लि. सिंगापुरका महाप्रबन्धक एवं ए.आई. एण्ड हाई पर्फरमेन्स कम्प्युटिङ्ग च्याप्टर एसजिटेकका मानार्थ सचिव (General Manager, Adera Global Pte Ltd and Honorary Secretary, AI & High Performance Computing Chapter, SGTech) फु.ति.मेङ्गले कार्यपत्र प्रस्तुत गर्दै नेपाल र विश्वको अहिलेको अवस्था तथा त्यसवाट लिन सकिने व्यावसायिक लाभ एवं डिजिटल रुपान्तरणको निम्तो भोलिको तयारीकावारेमा चर्चा गरे ।

कार्यक्रमको तेश्रो तथा अन्तिम सत्रमा इमर्जिङ्ग टेक्नोलोजीज फर डिजिटल टान्सफर्मेशन बिषयमा कार्यपत्र प्रस्तुत गर्दै अमिया कर्पोरेशन जापानकि ग्लोबल सेल्स युनिट – जनसम्पर्क अधिकृत (Global Sales Unit | Public Relations Manager, AMIYA Corporation) र नेपाल पेमेन्ट सोलुसन्सका चिफ इन्नोभेसन अफिसर एवं पुर्यानी भेन्चर्सका संस्थापक डा. प्रमोद पराजुलीले सूचना प्रविधिले नेतृत्व गरेको हालको औद्योगिक युगमा डिजिटल रुपान्तरणले कसरी प्रविधि, डाटा, प्रक्रिया र संस्थागत परिवर्तनलाई समेटेको छ एवं त्यसबाट नेपालले कसरी फाईदा लिन सक्छ भन्नेबारे चर्चा गरे।

प्रकाशित: ११ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...