आर्थिक समाचार

एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा
Global IME Bank

गैरआवासीय नेपाली सङ्घ एनआरएनए आइसिसीको आसन्न निर्वाचनमा अध्यक्षको रूपमा वर्तमान कार्यसमिति उपाध्यक्ष समेत रहेकी रविना थापाले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

उनीसँगै उपाध्यक्षमा बेलायतका जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले समेत उम्मेदवारी दिने घोषणा गरेका छन् । थापा एनआरएनएमा अध्यक्षमा उम्मेदवारी दिने दोस्रो महिला हुन ।

उनले आफ्नो उमेद्धवारीको घोषणा गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गैर आवासीय नागरिकता, श्रमिक अधिकार, लगानी र युवा तथा महिलाको सशक्तीकरणलाई मुख्य चुनावी एजेन्डा बनाएको बताइन ।

“एनआरएनएमा रहेको अर्को महत्त्वपूर्ण एजेन्डा भनेको नागरिकता हो,” उनले भनिन, “अहिले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाएको छु ।”

यसै गरी उनले विदेशबाट मताधिकार र दोहोरो करका विषयलाई समेत प्रमुखताका साथ उठाउने बताइन । सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन ।

“लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन् । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो ।” उनले पत्रकार सम्मेलनमा भनिन ।

दोहोरो करका सम्बन्धमा पनि गैरआवासिय नेपालीले करमा छुट पाउनुपर्छ भन्ने उनको चुनावी नारा रहेको छ ।

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थापाले वर्तमान कार्यसमितिमा एनआरएनएका सबै सदस्यले नेतृत्व चुन्न पाउनु पर्ने माग गरे पनि अल्पमतमा पारिएको बताइन । ‘सङ्घमा अहिले १ लाख ५ हजार सदस्य छन्, उनीहरू सबैले नेतृत्व चयनमा मतदान गर्न पाउनु पर्ने व्यवस्था गर्न माग गरे,’थापाले भनिन्,‘अब निर्वाचित हुने मेरो नेतृत्वले सबैलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछुु ।

उनले पहिलो पटक सङ्घको अध्यक्ष महिलालाई निर्वाचित गराउन अपिल समेत गरिन् । उनी सहित उनको समूहमा रहेका अधिकारी र गुरुङले वैदेशिक रोजगारीमा जानेका लागि उनीहरूको हित र भूतपूर्व गोर्खा सैनिकको अधिकारमा काम गर्ने बताए ।

विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालको कला संस्कुती, धर्म, आर्थिक क्रियाकलाप, प्रविधि, लगानी, ज्ञानलाई नेपालसँग निरन्तर जोडी रहन नागरिकताको विषयमा सबै गैरआवासिय नेपालीले आवाज उठाउनु पर्ने थापा समूहको भनाई छ।

Sajilo Visa
easy care