
काठमाडौं ।
बिटक्वाइन माइनिङमार्फत् बर्सेनि एउटा सानो आकारको सूचना प्रविधि कम्पनीले भन्दा बढी विद्युतीय फोहर अर्थात् ई-वेस्ट उत्पादन गर्ने खुल्न आएको छ।
हालै गरिएको एक अनुसन्धानमा क्रिप्टोकरेन्सी माइनिङ गर्नेहरुले बर्सेनि ३० हजार ७०० टन विद्युतीय फोहर उत्पादन गर्ने आकलन गरिएको छ।
अनुसन्धाताहरु एलेक्स डे भ्राइज तथा क्रिश्टियन स्टोलको अनुमान अनुसार यस्ता फोहरको परिमाण औसत २७२ ग्राम प्रति कारोबार रहने गरेको छ।
माइनिङ गर्ने व्यक्तिहरुले नयाँ बिटक्वाइन सिर्जना गरेर पैसा कमाउँछन् तर यस्ता क्रिप्टोकरेन्सी माइनिङको प्रक्रियाका क्रममा हुने कम्प्युटिङमा थुप्रै उर्जा खर्च हुने गर्छ।
माइनरहरुले डिजिटल मुद्रा प्राप्त गर्नका लागि बिटक्वाइन कारोबारको लेखापरीक्षण गर्ने गर्छन्। यस प्रक्रियामा खपत हुने बिजुली हाल फिलिपिन्स देशले खपत गर्नेभन्दा बढी रहेको अनुसन्धान रिपोर्टहरुले देखाएका छन्। परिणामस्वरुप यसले हरित गृह ग्याँस प्रदूषणलाई बढाउँछ।
यसबाहेक यस प्रक्रियमा प्रयोग भएका ठूलो परिमाणका कम्प्युटर पनि काम नलाग्ने हुन पुग्छन् र विद्युतीय फोहरको चाङमा अझ थप हुन पुग्छ।
अनुसन्धाताहरुले बिटक्वाइन माइनिङ गर्ने डिभाइसको औसत जीवन १ वर्ष र केही दिनमात्र हुने आकलन गरेका छन्।
परिणामस्वरुप नेदरल्यान्ड्स जस्तो देशमा सूचना प्रविधि तथा दूरसञ्चार उपकरणमार्फत् उत्पादित विद्युतीय फोहरसँग क्रिप्टो माइनिङमार्फत् निस्कने फोहरको तुलना गर्न सकिने बताइन्छ।
यो अनुसन्धान प्रतिवेदन रिसोर्सेज, कन्जरभेशन एन्ड रिसाइक्लिङ नामक जर्नलमा प्रकाशित भएको थियो।
प्रकाशित: ६ आश्विन २०७८, बुधबार