काठमाडौं ।
अमेरिकामा अनरलाई पनि ह्वावेजस्तै एन्टिटी लिस्ट अर्थात् अमेरिकी कम्पनीहरुले विशेष इजाजत नलिइ कारोबार गर्न नपाउने सूचीमा राख्ने सम्बन्धमा त्यहाँका एजेन्सीहरुबीच मतभेद उत्पन्न भएको छ।
अमेरिकाको वाशिङ्टन पोस्टमा आएको एक रिपोर्टलाई उद्धृत गर्दै द भर्जले यस्तो जानकारी बाहिर ल्याएको हो।
रिपोर्ट अनुसार वाणिज्य, राज्य तथा उर्जा विभाग तथा पेन्टागनका उच्च अधिकारीहरुले अनरलाई एन्टिटी लिस्टमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न गत हप्ता भेटवार्ता गरेका थिए।
छलफलका क्रममा पेन्टागन तथा उर्जा विभागका अधिकारीले यसो गर्न नहुने विचार व्यक्त गरेका थिए।
यदि यो सूचीमा राखिएमा अनरले पनि ह्वावेले झैं इजाजतबिना अमेरिकाबाट प्राविधिक सामग्री आयात गर्न सक्ने छैन।
अमेरिकाले गत वर्ष राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै प्रतिबन्ध लगाएको ह्वावेले सन् २०१३ मा अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न अनरको स्थापना गरेको थियो। तीन वर्षपछि कम्पनीले अनर ८ अमेरिकामा पनि उपलब्ध हुने घोषणा गर्यो।
गत महिना अनरले ह्वावेबाट छुट्टिएपछिको आफ्नो पहिलो फ्ल्यागशिप फोनको घोषणा गर्यो। यो स्मार्टफोन शुरुमा चीनमा र पछि विश्वभरी नै सार्वजनिक गरिने बताइएको थियो।
अनरका बारेमा एजेन्सीहरुको मतभेदले बाइडेन प्रशासन अमेरिकको चीनविरुद्धको प्रतिस्पर्धा जोखिम
सन् २०१९ मा तत्कालीन ट्रम्प प्रशासनले ह्वावेलाई राष्ट्रिय सुरक्षामा खतरा बनेको भन्दै प्रतिबन्ध लगाएको थियो। पछि ह्वावेकी मुख्य वित्तीय अधिकारी मेङ वान्झाउलाई बैंक तथा वायर सेवामा धोकाधडी गरेको आरोपमा पक्राउ पनि गरिएको थियो।
रिपब्लिकन सांसदहरुले बाइडेन प्रशासनलाई प्रविधि क्षेत्रमा सम्भाव्य प्रतिस्पर्धात्मक जोखिम कम गर्न चीनलाई वित्त विभागले झैं प्रतिबन्ध लगाउनु पर्ने सुझाब दिएका छन्।
प्रतिबन्ध लगाउनु पर्ने विचार व्यक्त गर्नेहरुले अनर पहिले ह्वावे अन्तर्गत रहेको र अहिले पनि राज्यको समर्थन रहेका व्यक्तिहरुले चलाइरहेका भएकोले अमेरिकाको सुरक्षा खतरा ह्वावेले झैं यसले पनि बढाउने जोखिम औंल्याए। यसबाहेक अनरले आफ्नो पूर्व कम्पनी ह्वावेलाई प्रतिबन्धित सामग्रीहरु सुटुक्क दिएको पनि हुनसक्ने शंका व्यक्त गरे।
उता चीनका विश्लेषकहरुले भने अनरमाथि प्रतिबन्ध लगाउने कुराले चीनलाई भन्दा अमेरिकालाई बढी समस्या पार्ने चेतावनी दिएका छन्।
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार