इमेलमार्फत प्रश्नपत्र पठाएर कक्षा १२ को परीक्षा सञ्चालन

  • Technology Khabar | ३१ भाद्र २०७८, बिहीबार
इमेलमार्फत प्रश्नपत्र पठाएर कक्षा १२ को परीक्षा सञ्चालन

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विद्यालयहरूमा इमेलमार्फत प्रश्नपत्र पठाएर कक्षा १२ को परीक्षा सञ्चालन भइरहेकाे छ।

कोभिड १९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै भदौ ३० गतेबाट सुरु भए पनि सबै विद्यालयमा प्रश्नपत्र पुर्‍याउन सम्भव नभएपछि इमेलमार्फत विद्यालयहरूमा प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्ड डडेलधुराका प्रमुख नारदप्रसाद जोशीले बताए ।
उनले भने, ‘जसरी भए पनि परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था आयो सबै परीक्षा केन्द्रमा पेपर पुगाउन सम्भव नभएकोले राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले इमेल मार्फत प्रश्न पत्र पठाउने गरेको छ।’

परीक्षा सञ्चालन हुनुभन्दा ३० मिनेट अगाडि इमेलमार्फत प्रश्नपत्र  पठाउने गरेको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका शाखा अधिकृत दिलबहादुर नेपालीले बताए।

उनले भने, ‘सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका २ सय ६२ केन्द्रमध्ये ७८ वटा केन्द्रमा पेपर पुगेको र बाँकी १ सय ८४ वटा परीक्षा केन्द्रमा इमेलमार्फत पेपर पठाएर परीक्षा सञ्चालन गरिरहेका छौं।’

भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी र अछामका १५ हजार ३ सय विद्यार्थीले परीक्षा फारम भरेको तथ्याङ्क रहेको राष्ट्रिय परीक्षा बोर्ड डडेल्धुरामा छ। गोरखापत्रअनलाइन

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार