कार्डको अवधि सकिनुपहिले नै ग्राहकलाई जानकारी दिनुपर्ने, अवधिभर नवीकरण शुल्क लिन नपाईने

  • Technology Khabar | २९ भाद्र २०७८, मंगलवार
कार्डको अवधि सकिनुपहिले नै ग्राहकलाई जानकारी दिनुपर्ने, अवधिभर नवीकरण शुल्क लिन नपाईने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कार्डको अवधि सकिनुभन्दा पहिले नै ग्राहकलाई जानकारी दिनुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

केन्द्रिय बैंकले आज एकीकृत निर्देशन दिँदै ग्राहकहरुलाई क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्डको अवधि सकिनुभन्दा १५ दिन पहिले नै जानकारी दिनुपर्ने नियम ल्याएको छ।

‘कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्नेछ तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्नेछ,’ निर्देशनमा भनिएको छ।

विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन नपाइने निर्देशनमा लेखिएको छ।

यसका साथै अब भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले समेत स्वदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । उनीहरुले स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड मात्र जारी गर्न सक्ने निर्देशन जारी गरिएको हो ।

राष्ट्र बैंककाअनुसार विद्युतीय भुक्तानी कार्ड तथा अक्वारियर डिभाइसहरु अनिर्वायरुपमा चिपमा आधारित हुनुपर्नेछ । त्यस्तै विद्युतीय भुक्तानी कार्डमार्फत हुने कारोबार अनिवार्य रूपमा चिप र पिनमा आधारित हुनुपर्नेछ । तर, नियर फिल्ड कम्युनिकेसन तथा कन्ट्याक्टलेस कार्डमार्फत विद्युतीय कारोबार गर्दा पिन आवश्यक हुनेछैन्।

अर्कोतर्फ एटिएमबाट हुने सम्पूर्ण कारोबारहरू चिप र पिनमा आधारित हुनुपर्नेछ।

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार