भारतसँग जोडिएको सीमाक्षेत्रमा चल्दैन स्वदेशी सिम

  • Technology Khabar | २४ भाद्र २०७८, बिहीबार
भारतसँग जोडिएको सीमाक्षेत्रमा चल्दैन स्वदेशी सिम

काठमाडौं ।

भारतसँग जोडिएको दाङको सीमाक्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा समस्या भएको सीमाक्षेत्रमा बस्ने नेपालीले बताएका छन् ।

राजपुर गाउँपालिका विशेषगरी सीमाक्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा भारतसँग जोडिएका दाङका अधिकांश नाकाक्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई सम‚या भएको नाकावासीको भनाइ छ ।

गाउँपालिकाको अधिकांश (१, ६ र ७) वडाको बस्तीमा टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

राजपुर गाउँपालिका वडा नम्बर ६ भैसाहिनाका निवासी पूर्णबहादुर रोकाले सीमाक्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण थालेको दुई वर्ष हुन लाग्दा पनि हालसम्म सञ्चालनमा नआएको बताए । उनले भने,”घरबाट टेलिकमको टावर देखिन थालेको दुई वर्ष भयो तर आजसम्म मोबाइलमा नेटवर्क छैन् ।’’

राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानका मङ्गल सेनले नाकाको मुख्य समस्या भनेकै सञ्चार भएको बताए । उनले भने, “सञ्चार सेवा नहुँदा धेरै कामबाट वञ्चित हुनुपरेको छ । एक कल फोन गर्न डाँडाकाँडामा उक्लिनुपर्ने बाध्यता छ।”

भारतसँग सीमा जोडिएको दाङमा साना ठूला गरी ३४ वटा सीमा नाकाक्षेत्र छन् । जसमध्ये गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकाबाहेक अन्य कुनै पनि नाकाक्षेत्रमा सञ्चारको सेवा नहुँदा बर्सेनि नाकावासीले सास्ती खेप्दै आएका हुन् ।

नाकामा बसोवास गर्ने स्थानीयले भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता छ । यता, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले नाकाक्षेत्रमा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको बताए।

“राजपुरको पटौली नाका र ७ नम्बर वडाको सुनपत्थरी नाका जोड्ने भीरमा टावर निर्माण लगभग अन्तिम चरणमा पुगेको छ, केही प्राविधिक कुरा बाँकी छन्, त्यो पनि अब दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने तयारीमा छौं,” अध्यक्ष केसीले भने । गोरखापत्र

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार