भरतपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भए त्यसको जिम्मेवारी विद्युत प्राधिकरणले लिनुपर्छ: आईस्पान

  • Technology Khabar | १६ भाद्र २०७८, बुधबार
भरतपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भए त्यसको जिम्मेवारी विद्युत प्राधिकरणले लिनुपर्छ: आईस्पान

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल, आईस्पानले भरतपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने र यसो भएमा यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको छ।

संघले एउटा विज्ञप्ति प्रकाशित गर्दै विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरुले उपकरण लुट्ने, नियतवश इन्टरनेटको तार काट्ने, इन्टरनेट मर्मत तथा सेवा प्रवाहमा बाधा पुर्याउने काम गरेकाले दूरसञ्चार ऐन २०५३ को उल्लंघन भएको निष्कर्ष निकालेको छ।

संघले केही समयअघि भरतपुर क्षेत्रबाट नेपाल विद्युत प्राधिकरणले लुटेका दूरसञ्चार उपकरण फिर्ता नदिएकोले इन्टरनेट सेवा सहजरुपमा उपलब्ध गराउन अप्ठेरो परेको पनि थपेको छ।

विज्ञप्तिमा विद्युत प्राधिकरणले ओपीजीडब्लू फाइबरको पोलको भाडादर अचाक्ली बढाए पनि त्यसको भार ग्राहकलाई नपरोस् भन्नका लागि  उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण विद्युत प्राधिकरण केन्द्रीय कार्यालयका पदाधिकारीसहितको उच्च स्तरीय वार्ता गरिरहेकै बेला विद्युत प्राधिकरणले दूरसञ्चार उपकरण बिगार्ने र लुट्ने गरेकाले यो समस्या आएको जनाएको छ।

विज्ञप्तिमा संघले इन्टरनेट सेवामा समस्या आएमा त्यसका लागि माफी माग्दै आफूहरु पोल भाडा तिर्न सदैव तत्पर रहेको र बढेको भाडादरको मार ग्राहकमा नपार्न छलफलमा जुटिरहेको स्पष्ट पारेको छ।

साथै दूरसञ्चार ऐन २०५३ को उल्लङ्घन हुँदासम्म पनि राज्यको ध्यान नगएकाले सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...