
काठमाडौं ।
लन्डनका एक १२ वर्षीय बालकले बनाएको ह्वेलको आकृतियुक्त एनएफटी ४७ करोड रुपैयाँभन्दा धेरैमा बिक्री भएको छ।
ती बालकले आफ्नो बिद्यालय छुट्टी भएको समयमा थुप्रै पिक्सेलहरु जोडेर बनाएको वियर्ड ह्वेल्स नामक कलाकृति उक्त परिमाणमा नन फन्जिबल टोकन अर्थात एनएफटीका रुपमा बिक्री भएको हो।
एनएफटीका रुपमा कुनै पनि कलाकृतिलाई डिजिटल सर्टिफिकेट प्रदान गर्नका लागि उक्त कलाकृतिको डाटालाई कम्प्युटरका माध्यमबाट सुरक्षित गरिन्छ। यसो गरेपछि त्यसको प्रतिलिपि अधिकार अरु कुनै अनधिकृत व्यक्तिले दुरुपयोग गर्न पाउँदैन भने आधिकारिक हकवालाले किनबेच गर्न सक्दछ।
एनएफटीका रुपमा कुनै पनि कलाकृति किन्नेले त्यसको सक्कल प्रति वा प्रतिलिपि अधिकार केही पनि पाउँदैन। बेन्यामिन अहमद नामका ती बालकले आफ्नो कमाइ क्रिप्टोकरेन्सी इथेरियममा सञ्चय गर्ने बताएका छन्।
यसरी क्रिप्टोकरेन्सीमा राखेको कमाइको मूल्य घटबढ पनि हुन सक्छ भने उक्त डिजिटल वालेट ह्याक भएमा के गर्ने भन्ने कुनै प्रतिबद्धता सम्बन्धित निकायबाट आएको छैन। अहमदको हालसम्म कुनै बैंकमा परम्परागत खातासमेत छैन।
प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार