अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको समय सकिँदै, नासाले अर्को नबनाउने संकेत

  • Technology Khabar | ११ भाद्र २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको समय सकिँदै, नासाले अर्को नबनाउने संकेत

काठमाडौं ।

१९९८ मा शुरु भएको अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस निकै पुरानो भइसकेको छ।

पहिलो पटक सञ्चालनमा आएको २० वर्षभन्दा बढी भइसकेकोले अब यसको प्रदर्शन क्षमतामा ह्रास आउन थालेको पाइएको छ।

सन् २००० यता यो स्टेशनमा दीर्घकालीन सूक्ष्म गुरुत्वाकर्षणको अध्ययन गर्नका लागि एउटा मात्रै प्रयोगशाला रहँदै आएको छ।

यो प्रयोगशालाले अझ प्रभावकारी पानी शुद्धीकरण प्रणाली र अल्जाइमर्स तथा क्यान्सर उपचारको नयाँ पद्धतिहरु खोजी गर्नेजस्ता वैज्ञानिक विकासका क्षेत्रमा निकै अहम् भूमिका निर्वाह गरेको थियो।

सन् २००० यता यो प्रयोगशालालाई विभिन्न १९ देशका अन्तरिक्षयात्रीहरु पालैपालो अनुसन्धानका लागि प्रयोग गर्दै आइरहेका छन्।

‘हाम्रो अन्तरराष्ट्रिय साझेदारहरुसँगको सम्झाैता अनुसार अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसले हालै कम्तीमा सन् २०२४ सम्म सञ्चालनमा रहन सक्ने अनुमति पाएको छ,’ नासाको कमर्सियल लो अर्थ अर्बिट प्रोग्राम अफिसकी प्रबन्धक एन्जेला हार्टले बताइन् ‘यद्यपि, हामी निरन्तर रुपमा विज्ञान तथा अनुसन्धानलाई अगाडि बढाइरहँदा आईएसएसको समय कुनै कालखण्डमा अन्त्य हुनेछ भन्ने कुरा मनन गरेका छाैं।’

तर नासाले अर्को अन्तरिक्ष स्टेशन भने नबनाउने संकेत गरेको छ। बरु यसको सट्टा अन्य कम्पनीका प्रविधिहरुको सहायता लिने बुझिएको छ।

कोलोराडोको सिएरा स्पेस तथा होस्टनमा रहेको एक्जियम स्पेस जस्ता कम्पनी आफ्नै अन्तरिक्ष स्टेशन निर्माण गर्ने क्रममा रहेकाले पनि नासाले यस्तो निर्णय लिएको हुनसक्ने आकलन गरिएको छ।

प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार