
काठमाडौं ।
नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकम पछिल्लो एक महिनामा बढेको पाइएको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा श्रावण मध्यसम्ममा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या ३ लाख २९ हजार ५२३ रहेको पाइएको छ।
असार मध्यसम्ममा यो कारोबारको संख्या २ लाख ४० हजार ४३८ रहेको थियो। यसरी हेर्दा असार मध्यभन्दा श्रावण मध्यसम्मको एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार संख्या ८९ हजार ८५ ले बढको छ।
कारोबार रकममा २६ करोड ९० लाख रुपैयाँले वृद्धि
कारोबार संख्या बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ।
अघिल्लो महिनामा इन्टरनेट बैंकिङमार्फत् ११ अर्ब १४ करोड २० लाख रुपैयाँको कारोबार भएकामा श्रावण मध्यमा आएर यो रकम १३ अर्ब ८३ करोड २० लाख रुपैयाँ पुगेको छ।
तुलनात्मक हिसाबले हेर्दा एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकममा २ अर्ब ६९ करोड रुपैयाँले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ।
प्रकाशित: ११ भाद्र २०७८, शुक्रबार