११ हजार फिट माथि रहेको विमानबाट खसेको आईफोन एक्स सकुशल भेटिएपछि…

  • Technology Khabar | १० भाद्र २०७८, बिहीबार
११ हजार फिट माथि रहेको विमानबाट खसेको आईफोन एक्स सकुशल भेटिएपछि…

काठमाडौं ।

एप्पलका डिभाइसहरु मूल्यमा महंगा भए पनि आफ्ना विविधता, मजबुती तथा उच्च प्रदर्शनका लागि चिनिने गर्छन्। केही समयअघि म्यागसेफ चार्जिङ डकमा पानीमुनी पठाइएको थुप्रै समयपछि निकाल्दा पनि कुनै समस्या नभएको खबर सार्वजनिक भएको थियो।

तर हालै भने एउटा आईफोन एक्स ११ हजार फिटमाथि उडिरहेको सानो विमानबाट खसेर पनि सकुशल रुपमा भेटिएको सुन्दा झट्ट पत्यार नलाग्न सक्छ।

हालै आएको एक रिपोर्ट अनुसार डेभिड नाम गरेका एक पाइलट सानो डीए४० मोडेलको विमान लिएर १० हजार फिटमाथि उड्दै गर्दा यो घटना भएको हो।

डेभिडले एभिएटर फोरममा यसबारेमा पोस्ट गरेका थिए।

उक्त विमानमा सानो झ्याल पनि हुने र विमान उडिरहेको बेला खोल्न पनि मिल्ने हुन्छ।

यस्तो थियो घटना

डेभिड कोलोराडो स्प्रिङ्सबाट एटलान्टा उड्दै गर्दा म्यासाचुसेट्मा इन्धन भराए। त्यसपछि एटलान्टातर्फको यात्रा जारी राख्दा उनलाई ११ हजार फिट माथि भेटिएका बादलका आकृतिले मुग्ध बनायो र उनी विमानको सानो झ्याल खोलेर तिनीहरुका फोटो तथा भिडियो लिन थाले।

उनी फोटो लिँदा हातबाट फोन छुट्ला भन्नेमा सचेत रहँदा रहँदै सानो हावाको झोंकाले उनको फोन हातबाट फुत्काइदियो र हेर्दा हेर्दै आईफोन एक्स ११ हजार फिटको उचाइबाट तल खस्यो।

भटमास बारीमा भेटियो फोन

भारी मन गर्दै उनी अगाडि बढिरहे। त्यति माथिबाट खसेको फोन भेटिएला भन्ने उनले कल्पनासम्म पनि गरेनन्। तर उनको सोभाग्य, फाइन्ड माइ आईफोन एपमार्फत् खोज्दा उसले ट्र्याक गरेको लोकेशनमा खोज्न जाँदा उक्त फोन भटमास बारीमा माटोमा दबिएको अवस्थामा फेला पर्यो। एटलान्टा हिँडेका उनी फोन ट्र्याक भएपछि अर्कान्सस फर्किएका थिए।

ब्याट्री मात्र फुलेको थियो

माटोमा दबिएको अवस्थामा भेटिएको उक्त फोनमा ब्याट्री फुल्नुबाहेक अन्य कुनै समस्या आएको थिएन।

उक्त क्षेत्र ओसिलो भटमास बारी भएका कारण पनि फोन कडा सतहमा ठोक्किन नपाएकाले भाैतिक रुपमा फुट्ने वा सामान छरपस्ट हुने अवस्था नआएको डेभिडले आकलन गरेका थिए।

त्यसबाहेक उक्त फोन अट्टरबक्स डिफेन्डर सिरिज केशसहित भएकाले पनि भाैतिक रुपमा क्षति हुनबाट बचेको बुझिएको छ। तर यति माथिबाट खसेर पनि भाैतिक रुपमा केही नभएको घटना भने साँच्चै नै अपत्यारिलो छ।

प्रकाशित: १० भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार