यूनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ मा मोफसलका तीन विद्यार्थी सर्वोत्कृष्ट

  • Technology Khabar | ७ भाद्र २०७८, सोमबार
यूनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ मा मोफसलका तीन विद्यार्थी सर्वोत्कृष्ट

काठमाडौं ।

यूनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ सम्पन्न भएको छ।

विज्ञान शिक्षक समाज नेपाल, स्टान र यूनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालय बीच सम्झौता भए बमोजिम प्राविधिक रुपमा स्टानको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो।

परोपकार माध्यमिक विद्यालय, काठमाडौंको आईसीटी कक्षमा आयोजित अन्तिम प्रतिस्पर्धामा सातै प्रदेशबाट छनौट भएर आएका १४ जना प्रतिस्पर्धी विद्यार्थीहरुले वैकल्पिक माध्यमबाट आ-आफ्नो विज्ञान प्रतिभायुक्त परियोजना प्रस्तुत गरेका थिए।

विद्यार्थीले निर्माण गरेका परियोजनाको मूल्यांकन नास्टका प्रवक्ता डा. सुरेश कुमार ढुंगेलको भौतिक उपस्थितमा पाँच सदस्यीय विज्ञ समितिबाट भएको थियो।

यूनेस्को नेपाल सचिवालयका सहायक महासचिव डा. बाबुराम अधिकारी प्रमुख अतिथि, नास्ट प्राज्ञ तथा यूनेस्को विज्ञान समिति संयोजक प्रा. डा. रमेश मास्केलगायत विशेष अतिथिहरू रहेको कार्यक्रममा देशैभरिबाट  १ सयभन्दा बढी विज्ञान शिक्षक र विद्यार्थीहरु सहभागी थिए।

कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुमा भएको विज्ञान प्रतिभा प्रस्फुटन गरेर राष्ट्रिय तथा अन्तराष्ट्रियकरण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा पहिलो चरणमा सातै प्रदेशमा छुट्टा छुट्टै प्रतिस्पर्धा गराई प्रत्येक प्रदेशबाट २-२ जनाका दरले केन्द्रीय प्रतिस्पर्धाका लागि १४ जना विद्यार्थी छनौट गरिएको थियो।

अन्तिम प्रतिस्पर्धाबाट भगवती मा वि,बर्दियाका प्रान्जल ज्ञवाली प्रथम , होराइजन मा वि, कपिलवस्तुका अनुसन्धान पोखरेल द्वितीय, आदर्श मा वि, विराटनगरका श्रेता पोखरेल तृतीय तथा पद्मकन्या मा वि,काठमाडौंका स्वीकृति बास्तोला चतुर्थ भएका छन्।

उत्कृष्ट सबै विद्यार्थीलाई आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवसको दिन प्रमाण पत्र र सम्मानका साथ नगद पुरस्कार क्रमश: १० हजार, ८ हजार,  ६ हजार र ४ हजार रुपैयाँ प्रदान गरिने स्टानका सचिव मनोज आचार्यले जानकारी दिए।

प्रकाशित: ७ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...