काठमाडौं ।
झापामा महिलाहरुको चरित्र हत्या गरेको अभियोगमा २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् ।
बिर्तामोडको एक होटलमा १ पुरुष र २ जना महिलाहरूले खाजा खाइरहेको भिडियो खिचेर युट्युब र टिकटकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा २ युट्युबर र २ टिकटकर पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । अन्य केही फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनि झापाकाअनुसार उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेका बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको हो ।
उनीहरुमाथि अभद्र व्यवहार गरेको कसुरमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखिएको बताईएको छ।
उनीहरुले अनाधिकृत रुपमा खिचेको भिडियोले आफ्नो चरित्र हत्या भएको, गोपनीयताको हनन भएको र समाजमा बेइज्जती गर्ने काम गरेको भन्दै पीडितहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित महिलाहरू आफ्नो संसारभर पुग्ने गरी बेइज्जत गरिदियो भन्दै मानसिक तनावमा रहेका प्रहरीको भनाइ छ ।
एकजना महिला अपाङ्ग रहेकी र होटलमा उनीहरुले आपत्तिजनक क्रियाकलाप पनि नगरेका प्रहरीको भनाइ छ। केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ भाद्र २०७८, शनिबार