
काठमाडौं ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिईभिटी)ले संस्थाबाट सञ्चालन गरिने प्रि–डिप्लोमा तहका तपसिल बमोजिमका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०७८/०७९ को लागि अनलाइनबाट छात्रवृत्तिको आवेदन माग गरेको छ।
परिषदबाट सञ्चालन सम्बन्धन/स्वीकृति पाएका आंगिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (TECS) कार्यक्रम र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूले परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको “प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७७ (पहिलो संशोधन २०७८)” अनुसार अनलाइनबाट विद्यार्थी छनोटका लागि आवेदन फाराम भर्नु भराउन सक्नेछन् ।
यस शैक्षिक सत्रमा भर्ना सम्बन्धी विशेष व्यवस्था बमोजिम पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूले २०७८ भदौ २३ गतेभित्र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी विद्युतीय माध्यमबाट रीतपूर्वक आवेदन फाराम भर्न भराउन भनिएको छ ।
परिषदकाअनुसार एस.ई.ई/एस.एल.सी. तह उत्तीर्ण भएका विद्यार्थीहरूले पेस गरेका लब्धाङ्क पत्रमा प्राप्त गरेका प्राप्ताङ्कलाई आधार लिई कार्यक्रम र कोटाहरू अनुसार योग्यताक्रमानुसार छनोट हुनेछन् । साथै यस सम्बन्धी विस्तृत विवरण “प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७७ (पहिलो संशोधन २०७८)” मा उल्लेख गरिएको हुँदा www.ctevtexam.org.np मा राखिएको भर्ना सम्बन्धी निर्देशिका अध्ययन गर्नुहुन समेत अनुरोध गरेको छ ।
वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको आवेदन फाराम आवेदक स्वयंले परिषद प.नि.का.बाट तोकिएको समयसीमा भित्र अनलाइन आवेदन फर्म भरी बुझाउनुपर्नेछ । यसरी अनलाइन आवेदन फर्म भर्दा आफूले अध्ययन गर्न चाहेको कार्यक्रम र प्रदेश स्पष्टसँग उल्लेख गरी अध्ययन गर्न चाहेको शिक्षालय प्राथमिकीकरण गर्नुपर्नेछ ।
आवेदन फाराम भर्नका लागि प.नि.का. ले तोकेको कनेक्ट आईपिएस तथा सिधै अनलाइनबाट निम्नानुसार भर्ना प्रक्रिया शुल्क बुझाई भर्न सकिन्छ ।
Direct Online बाट शुल्क जम्मा गरी फाराम भर्ने तरिकाः
नोट: आवश्यक कागजात जेपेक (JPEG) फर्मेटमा स्क्यान गरी अपलोड गर्ने साइजः
आवेदन फारामको साथमा हालसालै खिचिएको पासपोर्ट साइजको रङ्गीन फोटो र तोकिए अनुसारका कागजात अनिवार्य अपलोड गर्नुपर्नेछ। वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी निर्देशन निर्देशिकाअनुसार भर्नुपर्नेछ । तोकिए अनुसारको शुल्क, फोटो र कागजात समावेश नभएका आवेदन फारामहरू स्वतः रद्द हुने बताईएको छ ।
वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको आवेदन फाराम आवेदक स्वयंले अनलाइनमा प्रक्रिया पूरा गरी परिषद, प.नि.का.बाट स्वीकृत भएपछि तुरुन्त प्रवेशपत्र प्रिन्ट गर्न सकिन्छ । सो प्रिन्ट गरिएको भर्ना अनुमति पत्र शिक्षण संस्थामा भर्ना हुनका लागि चाहिने हुनाले सुरक्षित राख्नुपर्नेछ ।
सूचनामा तोकिएको समयभित्र रीतपूर्वकको अनलाइन आवेदन फाराम भरेका आवेदकहरूलाई मात्र छनोट प्रक्रियामा समावेश गराई प्रादेशिक स्तरमा प्रतिस्पर्धा गराइनेछ । अनलाइनमा भरेको आवेदन परीक्षा नियन्त्रण कार्यालयबाट स्वीकृत भएपछि विद्यार्थीको भर्ना अनुमति पत्र तथा भर्ना अनुमति नम्बर कायम हुने परिषदले जनाएको छ।
परिषदकाअनुसार यहि भदौ ७ गतेदेखि अनलाइन आवेदन खुल्नेछ भने भदौ २३ गतेसम्म फाराम बुझाईसक्नुपर्नेछ । अनलाइन आवेदनका लागि ३०० रुपैयाँ शुल्क तोकिएको छ ।
प्रकाशित: २ भाद्र २०७८, बुधबार