
काठमाडौं ।
सोशल मीडियामा हिजोआज एउटा बिरालो निकै चर्चामा आइरहेको छ। हिभर नाम भएको यो बिरालो नेपालकी पूर्व निर्वाचन आयुक्त इला शर्माको भएको बताइएको छ। यो बिरालोको नाममा फेसबुक र ह्वाट्सएप एकाउन्ट पनि छन्।
हिभरको फेसबुक पेजमा हालै लेखिएको छ, ‘मलाई कतै देख्नुभयो भने भिडियो बनाएर ह्वाट्सएपमा राखिदिनुहोला, मेरी हजुरआमा भोलिपल्टै आएर मलाई आफ्नो घर काठमाडाैं लैजानुहुनेछ।’
यस्तो थियो घटना
छिमेकी देश भारतको गोरखपुर रेलवे स्टेशनमा रेलको चर्को आवाज सुनेर यो बिरालो ९ महिना अघि आफ्नी मालिक्नीबाट फुत्किएर भागेको थियो र त्यसै बेलादेखि यो बिरालो हराइरहेको छ। त्यसैले विभिन्न उपाय र माध्यमद्वारा यसलाई खोज्ने प्रयास जारी छ।
यो बिरालोलाई खोज्नका लागि सबैभन्दा पहिले विभिन्न ठाउँहरुमा पोस्टर टाँसिएको थियो र भेट्ने व्यक्तिलाई पुरस्कारको घोषणा गरिएको थियो। यो बिरालोलाई भेटाउनेलाई ३० हजार भारतीय रुपैयाँ पुरस्कार दिइने ती पोस्टरमा उल्लेख थियो।
यो बिरालो गत २०२० नोभेम्बरमा गोरखपुर रेलवे स्टेशनबाट हराएको थियो। हराएको करिब ९ महिना पुग्दासम्म पनि यसको खोजीकार्य जारी छ। यसको खोजी कार्यमा गोरखपुरको आरपीएफ, जीआरपी तथा वन विभागदेखि प्रशासनको टोली हालसम्म सफल हुन सकेको छैन।
इला शर्मा पहिले गोरखपुरको एउटा गेस्टहाउसमा बसेर आफैं आफ्नो बिरालोको खोजीमा लागिपरेकी थिइन्।
यसलाई भेटाउनेका लागि शुरुमा ११ हजार भारु पुरस्कार राखिएको र नभेटिएपछि यो राशी बढाएर १५ हजार पुर्याइएको थियो। पछि फेरि यो राशी ३० हजार भारुसम्म पुर्याइएको र खोजी कार्यका लागि इला शर्माले गोरखपुरमा थुप्रै समय बिताएकी थिइन्। त्यसपछि उनी काठमाडौं फर्किएकी भारतीय मिडिया आजतकले जनाएको छ।
हाल भारतीय सोसल मिडियाहरुमा यो निकै चर्चामा रहेको बताईएको छ ।
नेपालकी पूर्व निर्वाचन आयुक्त शर्माले हिभर द काठमान्डु क्याट नामको फेसबुक पेज बनाएर बिरालो हराएको र बिरालोसँग सम्बन्धित फोटो भिडियो राखेकी छिन्। यतिमात्र नभई उनले आफ्नै फेसबुकमा पनि उक्त बिरालोका पुराना फोटो तथा भिडियो पोस्ट गर्दै भावुक स्टाटस लेख्दै आएकी छिन्।
प्रकाशित: १ भाद्र २०७८, मंगलवार