
काठमाडौं ।
चीनको ब्याट्री जायन्ट सीएटीएलले लगभग निजी शेयरमार्फत् ९ अर्ब डलर उठाउने योजना बनाएको छ। यो रकमले कम्पनीले ६ ओटा लिथियम आयोन ब्याट्री परियोजनालाई उत्पादन क्षमता बढाउनका लागि लगानी गर्ने बुझिएको छ।
यो फन्डरेजिङ निङ्डोमा रहेको कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनीले चीन जर्मनीमा आफ्नो ब्याट्री निर्माणलाई विस्तार गरेपछि आवश्यक भएको हो।
यसबाहेक यो रकम चीनको फुजियान, झेजियाङ र ग्वाङडोङ प्रान्तमा थुप्रै ब्याट्री उत्पादन प्लान्ट खोल्न साथै आफ्नो पुँजी अभिवृद्धि गर्नमा लगाइने सीएटीएलले मंगलबार बताएको छ।
यसबाहेक उर्जा सञ्चय फ्यासिलिटीका लागि ब्याट्री प्रविधि विकासमा पनि प्रयोग गरिने बुझिएको छ।
विश्वको अटो उद्योग विस्तारै पेट्रोलियमबाट विद्युतीयतिर परिवर्तन हुँदै गइरहेको अवस्थामा सीएटीएलले थुप्रै विद्युतीय सवारी निर्माताहरुलाई ब्याट्री आपूर्ति गरिरहेको छ।
यो सूचीमा टेस्ला, फक्सवागन तथा गीलीलगायतका छन्। यस हिसाबले कम्पनीले जापानको पानासोनिक र दक्षिण कोरियाको एलजी केमसँग प्रतिस्पर्धा गरिरहेको बुझ्न सकिन्छ।
सीएटीएलको शेयर उसले सार्वजनिक शेयर जारी गर्ने बताएपछि गत शुक्रबार एक पटक ५ प्रतिशतसम्म बढेको थियो। यसको हालको बजार पुँजी १ खर्ब ७० अर्ब डलर हाराहारी रहेको छ।
प्रकाशित: ३१ श्रावण २०७८, आईतवार