टेलिफोन टावरको लागि भोटखोला गाउँपालिकाले छुट्यायो ५५ लाख बजेट

  • Technology Khabar | २७ श्रावण २०७८, बुधबार
टेलिफोन टावरको लागि भोटखोला गाउँपालिकाले छुट्यायो ५५ लाख बजेट
सांकेतिक तस्बिर

काठमाडौं ।

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले टेलिफोन टावरका निर्माणका लागि ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

भोटखोलाले टेलिफोन टावरसम्म विद्युत् विस्तार गर्न उक्त बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए।

विद्युत् सेवा नपुगेका दुर्गम भोटखोलामा राखिएका बीटीएस टावरमा सोलारपावर जडान गरिएको छ। बीटीएस टावर सोलर पावरको भरमा मात्रै चल्ने गरेका छन्। सोलारपावर जडान गरिएको भोटखोलाको टावर घाम नलाग्दा बेला-बेला टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ।

बीटीएस टावरसम्म विद्युत् विस्तार गर्ने चालु आर्थिक वर्षमा ५५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष भोटेले बताए। विद्युत् विस्तार नहुँदा नेपाल टेलिकमका मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन्। भोटखोला-२ मा रहेको माक्पालुङमा जडान टावरमा सोलारले काम नगरेपछि दुर्गम भोटखोलामा मोबाइलमा सम्पर्कविच्छेद भइरहने मुख्य समस्या छ। भोटखोलामा सीडीएमए स्काइको रिममार्फत् मोबाइल फोन सञ्चालनमा छ।

उक्त विनियोजित बजेटमा गाउँपालिकाबाट २५ लाख रुपैयाँ, वडा नम्बर २ बाट २५ लाख रुपैयाँ र वडा नम्बर ४ बाट पाँच लाख रुपैयाँ विनियोजन भएको अध्यक्ष भोटेले बताए।

गाउँपालिकाले विनियोजन गरेको उक्त बजेटले चेपुवामा रहेको विद्युतलाई माक्पालुङ डाँडाको टावरसम्म लगिने पोल, तारलगायतमा खर्च गरिने उनको भनाइ छ। सोलारपावरले काम नगरेपछि चेपुवाको विद्युत् टावर लग्ने तयारी भएको उनले बताए।

माक्पालुङमा विद्युत् पुगेपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा टेलिफोन सेवाबाट लाभान्वित हुने छन्।

प्रकाशित: २७ श्रावण २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २७ श्रावण २०७८, बुधबार