Technology Khabar २७ श्रावण २०७८, बुधबार
काठमाडौं ।
विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड लागू गरिएपछि सेवाग्राहीलाई झनै सास्ती भोग्न बाध्य भएका छन् ।
खोप प्रमाणीकरणका लागि घण्टौँसम्म लाइन बस्दासमेत पालो नआएको भन्दै सेवाग्राहीले आन्दोलन गर्न थालेका छन् । सरकारले गएको बुुधबारदेखि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड जारी गर्न सुुरु गरेको थियो तर यसबाट सेवाग्राहीले झनै सास्ती भोग्नु परेको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले क्यूआर कोडका लागि पाँच दिनसम्म धाएर पनि कोड जारी नभएको गुनासो गरेका छन् । रोइकराई गर्दासमेत सरकारका जिम्मेवार निकाय बेखबर छन् । विदेश जानेको समयमा कोड जारी नहुँदा कतिपयले टिकट नै गुमाउनु परेको छ । सरकारले रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जानेलाई क्यूआर कोडसहितको खोप कार्ड व्यवस्था गरेको छ ।
फिर्ती टिकटसहित घर बिदामा आएर पुुनः फर्किने धेरैजसोले कोड जारी नहुँदा टिकट गुमाउनु परेको छ । यस्तैमध्येका हुन सर्लाहीका विजय शाह । उनी सरकारले भनेअनुसार अनलाइनबाट फर्म भेरर क्यूआर कोडका लागि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र धाउन थालेको तीन दिन भयो । चार वर्ष साउदी बसेर गएको चैतमा घरबिदामा आएका उनी कोरोनाको दोस्रो लहरले अन्तर्राष्ट्रिय उडान रोकिँदा यतै रोकिए।
विदेश जाने तयारी गरेर घरबाट बिदा लिएर आउनुभएका शाहले आँखाभरि आँसु पार्दै भने, ‘जनतन खोप लगाइयो क्यूआर कोडका लागि सबै प्रक्रिया गरियो, तीन दिन भयो यसैका लागि धाउन लागेको पाइएन, आज टिकट छ के गर्ने, मेरो टिकटको खर्च सरकारले बेर्होछ ?,’ शाह त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ ।
उनीजस्ता हजारौँ सङ्ख्याका युवाले क्यूूआर कोडका लागि चार/पाँच दिन धाउन बाध्य छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको समन्वय नहुँदा श्रम बेच्न जाने श्रमिकले सास्ती भोग्नुु परेको वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।
श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले विदेश उड्ने टिकट भएका श्रमिकको समयमै क्यूआर कोड जारी नहुँदा कैयौँले टिकट गुुमाउने परेको र यस बारेमा स्वास्थ्य मन्त्रालयका अधिकारी संवेदनशील नभएको देखेर आश्चर्य प्रकट गरे।
स्वास्थ्य विभागअन्तर्गतको खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले क्यूआर कोड जारी भइरहेको र इमरजेन्सी टिकट भएका कोही पनि कोडकै कारण नरोकिएको दाबी गरे । ‘आज वा भोलि टिकट भएकालाई साथीहरूले रातिसम्म गरेर भए पनि क्यूआर कोड जारी गरेर पठाउनु भएको छ तर नक्कली टिकट लिएर आउनेको आरोप मात्रै हो,’ उनले थपे। गोरखापत्र
प्रकाशित: २७ श्रावण २०७८, बुधबार