आइस्पानले भन्यो- कर्मचारीहरुलाई तुरुन्त खोप नदिए इन्टरनेट सेवामा अवरोध पुग्न सक्छ

  • Technology Khabar | १६ श्रावण २०७८, शनिबार
आइस्पानले भन्यो- कर्मचारीहरुलाई तुरुन्त खोप नदिए इन्टरनेट सेवामा अवरोध पुग्न सक्छ

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले अत्यावश्यक सेवामा समावेश भएको इन्टरनेट सेवा प्रदायकका कर्मचारी तथा प्राविधिकहरुले कोभिड १९ विरूद्धको खोप नपाएको भन्दै सरोकारबाला निकायहरुलाई ध्यानाकर्षण गराएको छ ।

स्वास्थ्य सेवा विभागले इन्टरनेट सेवा प्रदायकका कर्मचारीलाई कोभिड १९ विरूद्धको खोप प्रदान गर्ने निर्णय गरेपनि जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले पालना नगरेकोप्रति आइस्पानले ध्यानाकर्षण गराएको हो ।

कोभिड १९ को महामारी र संक्रमणको जोखिमका बिच सेवा प्रदायकहरुका कर्मचारीहरुले घरघरमा गएर मर्मत तथा जडानको  कार्य गरिरहेको तर कर्मचारीहरु पनि त्यसबाट संक्रमित भएको भन्दै तत्काल सबै जिल्लामा समेत सेवा प्रदायकका कर्मचारीहरुलाई खोपको व्यवस्था गर्न आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागले २ पटकसम्म कोभिड १९ विरूद्धको खोप प्रदान गर्ने निर्णय गरेपनि थुप्रै जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुले निर्णय पालना नगरेको प्रति गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रायल, नेपाल दूरसञ्चार प्राधिकरण लगायत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै यस विषयलाई गम्भिरतापूर्वक लिन आग्रह गरेको हो ।

यसका साथै आइस्पानले विभिन्न जिल्लाहरुका जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य सेवा विभागको निर्णयलाई बिना अवरोध पालना गरिदिन आग्रह गरेको छ।

इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा राखिएको र सेवा प्रदायकका कर्मचारीहरु घरघरमा पुगेर सेवा प्रवाह गर्नुपर्ने भएकाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत असार २८ गते स्वास्थ्य सेवा विभागले खोप दिने निर्णय गरेको थियो ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रायले पनि आवश्यक कारवाही गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको थियो ।

त्यसपछि पनि स्वास्थ्य सेवा विभागले खोप दिने निर्णय गरेको थियो । तर यसरी २ पटक निर्णय गरेपनि इन्टरनेट सेवा प्रदायकका कर्मचारीले खोप लगाउन नपाएकोप्रति आइस्पानले ध्यानाकर्षण जनाएको हो ।

आइस्पानले सेवा प्रदायकहरुका कर्मचारीहरुलाई तुरुन्त खोप उपलब्ध नगरेमा इन्टरनेट सेवामा अवरोध पुग्न सक्ने समेत चेतावनी दिएको छ ।

प्रकाशित: १६ श्रावण २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार