
काठमाडौं ।
ताप्लेजुङको हिमाली बस्ती याङ्मा अझै सञ्चारको पहुँचबाहिर रहेको छ । तिब्बतसँगको सीमावर्ती फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलाको याङ्मा अहिलेसम्म सञ्चारको पहुँचबाहिर रहेको जिल्लाकै उच्च हिमाली बस्ती हो ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङचुङगोलाको याङ्मा समुद्र सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा रहेको बस्ती हो । सदरमुकाम फुङ्लिङदेखि एकदिन सवारी साधन र दुई दिनको पैदल यात्रापछि याङ्मा पुगिन्छ । जिल्लाकै उच्च तथा दुर्गम बस्ती याङ्मामा अहिलेसम्म कुनै सञ्चारमाध्यमको पहुँच नहुँदा यहाँका बासिन्दा सुविधा उपभोग गर्नबाट वञ्चित छन् ।
उक्त बस्तीमा सञ्चार सुविधा नहुँदा सूचना आदानप्रदानमा समस्या रहँदै आएको स्थानीय ६५ वर्षीय ठावा शेर्पा बताउँछन् । देशमा विकास र परिवर्तनले धेरै गति लिए पनि याङ्मा बस्ती अहिलेसम्म ओझेलमै रहेको शेर्पाले गुनासो गरे ।
गाउँमा सञ्चार सुविधा नहुँदा धेरै समस्या रहेको याङ्माकै अर्का स्थानीय छाम्जे शेर्पा पनि बताउँछन् ।भारतको दार्जिलिङलगायतका सहरमा अध्ययन गर्ने आफ्ना छोराछोरी र अन्य आफन्तसँग सम्पर्क नहुँदा सधैँ मनमा पीडा हुने गरेको शेर्पाको अनुभव छ ।
“छोराछोरी र आफन्तसँग एक–अर्काको खबर तथा सूचना आदानप्रदान गर्न नपाउँदा मनमा चिन्ताले घर गरिरहन्छ,” उनले भने।
उनीहरूजस्तै सञ्चार सुविधा नहुँदाको पीडा याङ्मावासी सबैलाई उस्तै रहेको छ । सञ्चार पहुँच नभएकै कारण मरिमराउ र कुनै संवेदनशील अवस्थाको खबर समयमा नपाउँदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दा बताउँछन् । उनीहरूका अनुसार कुनै जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एक दिन पैदल हिँडेर ओलाङचुङगोला पुग्नुपर्दछ ।
ओलाङचुङगोलामा भने करिब एक वर्षअघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेपछि सञ्चार सम्पर्कका लागि सहज भएको छ । मोबाइल टावर राख्नुअघि ओलाङचुङगोलामा पनि सञ्चारको समस्या उस्तै रहेको थियो । बर्खा मौसममा भने याङ्मा–ओलाङचुङगोला आवतजावत गर्ने अवस्था पनि नरहेको याङ्मावासी बताउँछन् ।
याङ्मा खोलामा हिउँदमा काठेपुल लगाएर आउजाउ गर्ने गरिन्छ भने बर्खामा पुल बगाउने हुँदा ओलाङचुङगोलासँग सम्पर्क टुट्ने याङ्माका स्थानीय सोनाम शेर्पाले बताए । शेर्पाका अनुसार याङ्मा गाउँदेखि एक/डेढ घण्टा टाढा डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला सम्पर्क हुने गरेको छ । सम्पर्क भइहाले पनि कुराकानी भने सहजले गर्न नपाइने उनको भनाइ छ ।
दुर्गम तथा दूर दराजमा १० घर परिवारको बसोवास रहँदै आएको उक्त बस्तीमा सञ्चारको पहुँच पुर्याउने तत्काललाई कुनै योजना नभएको गाउँपालिकाले जनाएको छ । ओलाङचुङगोलावासीसमेत रहेका फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाले याङ्मासम्म सञ्चार पहुँच विस्तार गर्ने कुनै योजना नरहेको बताए।
यसरी स्थानीय शैलीको खबर आदानप्रदानले हालसम्म सञ्चार चलेको भए पनि अहिलेको सूचना र प्रविधिको समयमा पूरै गाउँबस्ती सञ्चारविहीन अवस्थामा रहनु अन्धकारको संसारमा रहनुसरह भएको कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल (क्यान) ताप्लेजुङका अध्यक्ष विष्णुकुमार लिम्बूको भनाइ छ । हालको तीनै तहको सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पुर्याउनका लागि आवश्यक पहल गर्नुपर्ने लिम्बूको सुझाव छ । गोरखापत्र
प्रकाशित: ९ श्रावण २०७८, शनिबार