जब प्रभु पेका ग्राहकहरुलाई नेपाल टेलिकमको एक्टिभ नभएको रिचार्ज पिन दिईयो…

  • Technology Khabar | ८ श्रावण २०७८, शुक्रबार
जब प्रभु पेका ग्राहकहरुलाई नेपाल टेलिकमको एक्टिभ नभएको रिचार्ज पिन दिईयो…

काठमाडौं ।

मोबाइल वालेट प्रभु पेले नेपाल टेलिकमको सेवाका लागि टपअपमा सक्रिय नै नभएका रिचार्ज पिन नम्बरहरु राखेर ग्राहकहरुलाई ठगी गर्ने गरेको भन्दै ग्राहकहरुले गुनासो गरेका छन् ।

प्रभु ग्रुपअन्तरगतको प्रभु पेले नेपाल टेलिकमको सेवाको लागि टपअपमा उपलब्ध गराईएको रिचार्ज पिन नम्बरहरु नेपाल टेलिकमबाट अनुमति लिएर सक्रिय गराएपछि मात्र राख्नुपर्नेमा सो नगरि सिधै राख्ने र ग्राहकहरुलाई ठगी गरेको गुनासो ग्राहकहरुले गरेका हुन् ।

ग्राहकहरुले कम्पनीबाट पटक पटक त्यस्तो गरिएको र ग्राहकहरुबाट रकम काटेर कम्पनीले जानाजान नै त्यस्तो गरेको आरोप लगाए।

प्रभु पेमार्फत नेपाल टेलिकमको सेवाको लागि टपअप रिचार्ज गराउँदै आएका राजेश कुमार रोयले वालेटमा पैसा काट्ने तर टेलिकमको रिचार्ज पिन एक्टिभेट नगराउने गुनासो गरे ।

‘मैले प्रभु पेबाट नेपाल टेलिकमको सेवाको लागि रिचार्ज गर्दा रकम काट्यो तर सेवा एक्टिभेट भएन् । धेरै पटक यस्तो हुँदा ग्राहकहरुलाई कम्पनीले झुक्याएको देखिएको छ,’ उनले भने ।

त्यस्तै अर्का ग्राहक सविन पौडेलले पनि प्रभु पेबाट टेलिकमको सेवा रिचार्ज गराउन खोजेको तर रिचार्ज नभएको बताए।

‘रिचार्ज किन भएन भनेर पटक पटक ट्राइ गर्दा सिम नै लक भयो र पछि खोलाउनु पर्यो। मेरो साथीको पनि रिचार्जमा समस्या आएको थियो । रिचार्ज पिन एक्टिभ नै नगरी नम्बर राख्नु त भएन् नी ।’ उनले भने।

 

यसका साथै प्रभु पेको लागि रिचार्ज गराईदिने (एजेन्ट) बानेश्वरका एक पसलेले वालेटमा समस्या आएको र ग्राहकहरुलाई रिचार्ज गराईदिँदा कठिनाई भएको तथा ग्राहकहरुले समेत सो बारेमा सोधेको बताए । उनले यसअघि यस्तो समस्या नदेखिएको र आज सेवा सुचारु रहेको जानकारी दिए।

मोबाइल वालेटहरुमा राखिने कम्पनीको रिचार्ज पिन सिरियल नम्बर एक्टिभेट भएपछि मात्र राख्नुपर्ने टेलिकमका एक अधिकारीले बताए ।

‘हामीले वालेटहरुलाई दिने रिचार्ज पिनको सिरियल नम्बर भुक्तानीको आधारमा एक्टिभेट गरिदिएका हुन्छौं र त्यसबाट मात्र सेवा रिचार्ज गर्ने वा एक्टिभेट हुने गर्दछ। एक्टिभेट नभएका रिचार्ज पिन नम्बरबाट सेवा एक्टिभ हुँदैनन् । वालेटहरुले के गर्छन हामीलाई थाहा हुँदैन्,’ ती अधिकारीले भने ।

ग्राहकहरुले वालेटमा नेपाल टेलिकमको सेवाको लागि पाउने रिचार्ज पिन सिरियल नम्बर एक्टिभ नभएको खण्डमा नेपाल टेलिकममा सोधेर जानकारी समेत लिन सक्दछन् ।

यस विषयमा प्रभु पेका एक कर्मचारीले आधिकारीकरुपमा बोल्न नमिल्ने भन्दै जुलाई २२ तारिख अर्थात बिहिबार एक्टिभ नभएका रिचार्ज पिन सिरियल नम्बरहरु राखिएको र त्यसले ग्राहकहरुलाई समस्या आएको स्वीकार गरे।

पहिले सिस्टममा कुनै समस्या नै नभएको र गुनासो नै नआएको दाबी गर्दै ती कर्मचारीले भने, ‘हामीले पनि आफैं सिस्टम चेक गरिरहेका हुन्छौं कहिलेकाँही त्यस्तो भएपनि; पछि समस्या समाधान गर्ने गरेका छौं । टेलिकमले एक्टिभ नगरेका रिचार्ज पिन सिरियल नम्बरहरु दिँदा समस्या भएको हो।’

उनकाअनुसार त्यस्तो समस्या हुँदा कम्पनीले ग्राहकहरुलाई पछि रकम फिर्ता गरिदिने वा सेवा सक्रिय गरिदिने गरेको छ।

‘हाम्रो भन्दा पनि टेलिकमको कारणले समस्या आएको हो टेलिकमले पछि रिचार्ज पिन सिरियल नम्बरहरु एक्टिभ गरिदिईसकेपछि कुनै समस्या छैन्,’ उनले भने ।

अहिले त्यस्तो कुनै समस्या नभएको र ग्राहकहरुले गुनासो गरेको खण्डमा तत्काल समाधान गरिने प्रभु पेले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ८ श्रावण २०७८, शुक्रबार