संस्कृत विश्वविद्यालयले तयार गर्यो स्मार्ट कक्षा

  • Technology Khabar | ८ श्रावण २०७८, शुक्रबार
संस्कृत विश्वविद्यालयले तयार गर्यो स्मार्ट कक्षा
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपाल संस्कृत विश्वविद्यालयले क्याम्पसमा स्मार्ट कक्षा तयार गरको छ । कोभिड सङ्क्रमणका कारण कक्षा बन्द भएपछि प्रविधिको उपयोग गर्दै स्मार्ट कक्षा तयार गरिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि कक्षा सञ्चालनका लागि स्मार्ट कक्षाको अवधारणा अघि सारिएको थियो ।

उपकुलपति लामिछानेका अनुसार पहिलो चरणमा परीक्षणका रूपमा जनता विद्यापीठ बिजौरी, पिण्डेश्वर विद्यापीठ धरान र वाल्मीकि विद्यापीठ काठमाडौँमा स्मार्ट कक्षाका लागि बजेट पठाइएको छ ।

जनता विद्यापीठ बिजौरीमा परीक्षणका रूपमा र पिण्डेश्वर विद्यापीठमा स्मार्ट कक्षाबाटै कक्षा सञ्चालनमा ल्याइएको छ । वाल्मीकि विद्यापीठ काठमाडौँमा भने कक्षा तयार पार्नका लागि भर्खरै टेन्डर गरिएको छ ।

उपकुलपति लामिछानेले संस्कृत विश्वविद्यालयले प्रविधिको उपयोगमा आफूलाई उभ्याउनु एउटा उदाहरणीय कार्य भएको बताए । तीनवटा विद्यापीठमा गरिएको परीक्षण प्रभावकारी देखिए र अन्य विद्यापीठका प्राध्यापकमार्फत स्मार्ट कक्षाको माग भए स्मार्ट कक्षाका लागि बजेट पठाइनेसमेत लामिछानेले जानकारी दिए ।

युग परिवर्तनसँगै विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकहरूले प्रविधिमा दक्षता हासिल गरे मात्रै शिक्षण सिकाइ विद्यार्थीसमक्ष पुग्नेसमेत उपकुलपति लामिछानेले बताए ।

तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको जनता विद्यापीठलाई विश्वविद्यालयले स्मार्ट कक्षा तयार गर्नका लागि माघ महिनामै बजेट पठाएको थियो ।

जनता विद्यापीठका प्राचार्य योगराज शर्माका अनुसार स्मार्ट कक्षा तयार भएपछि सैद्धान्तिक विषयभन्दा हिसाब गर्नुपर्ने विषयहरू ज्योतिष, गणितजस्ता विषय पढाउनका लागि निकै सहज भएको छ । प्राचार्य शर्माका अनुसार विद्यापीठले द्रुतमार्ग अपनाएर टेन्डर आह्वान गर्दै स्मार्ट कक्षा तयार पारेको हो ।

स्मार्ट कक्षामा स्मार्ट बोर्ड, ल्यापटप, क्यामरा, प्रोजेक्टर र ब्याट्रीको व्यवस्था गरिएको छ । प्राचार्य शर्माका अनुसार दस लाख ७५ हजार रुपियाँको लागतमा स्मार्ट कक्षा तयार पारिएको हो । कक्षा सञ्चालनका क्रममा इन्टरनेटमा समस्या देखिएकाले द्रुत गतिको इन्टरनेट जडानको प्रक्रियामा रहेको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएपछि विश्वविद्यालय अनुदान आयोगसमक्ष प्रविधिमैत्री कक्षा तयार गर्न बजेट माग गरको थियो । गोरखापत्र

प्रकाशित: ८ श्रावण २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार