काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले अब एक मोबाइल अपरेटरको सिम तथा मोबाइल नम्बरबाटै अर्को मोबाइल अपरेटरमा परिवर्तन गर्न दिने कानून तयार पार्ने भएको छ । मोबाइल नम्बर पोर्टाबिलिटीलाई सहज बनाउन नियम कानून बनाउने भएको हो ।
प्राधिकरणको चालु आवको बजेटमार्फत प्राधिकरणले नयाँ कार्यक्रमअन्तरगत मोबाइल नम्बर पोर्टाबिलिटीका लागि आवश्यक कार्यविधि विनियमावलीलगायत तयार पार्ने भएको छ ।
योजनाअनुसार चालु आवभित्रै उपसमिति गठन गरि आवश्यक विनियमावली तया कार्यविधि तयार पारी लागू गर्ने योजना लिएकोछ । प्राधिकरणको अन्तरआबद्धता तथा नम्बरिङ्ग शाखाअन्तरगतको सो नियमहरु तयार भएसँगै आगामी दिनमा मोबाइल नम्बर एक अपरेटरबाट अर्को अपरेटरमा सार्न सकिने छ ।
मोबाइल नम्बर पोर्टाबिलिटीले प्रयोगकर्ताहरुलाई आफ्नो मोबाइल नेटवर्क संचालकको सेवा मन नपरेको खण्डमा अर्को सेवा प्रदायक छान्ने सुबिधा हुनेछ भने अर्को नयाँ सेवा प्रदायककोमा जाँदा समेत ग्राहकले आफ्नो नम्बर नै अर्को नेटवर्कमा सार्न सकिने सुबिधा हुनेछ ।
छिमेकी देश भारतमा केहि वर्षअगाडी मात्र यस्तो सुबिधा शुरु भएको थियो भने अन्य देशहरुमा धेरै पहिले देखि यस्तो सुबिधा रहँदै आएको छ ।
प्राधिकरणले चालु आवमा यस सम्बन्धि नियम कानून बनाउनका लागि ५ लाख रुपैंया बजेट विनियोजन गरेकोछ।
प्रकाशित: ४ श्रावण २०७८, सोमबार