
काठमाडौं ।
कोभिड-१९ महामारीपछि धेरै उद्योगको हालत सुधारोन्मुख रहेको छ। विश्वमा कोभिडका बिरामीको सङ्ख्या घट्दै गएको अवस्थामा लकडाउनमा सहजता आएर कतिपय क्षेत्रमा फाइदा पनि भएको छ।
तर स्मार्टफोन तथा अटोमोबाइल उद्योगको अवस्था सजिलै सामान्य हुन मुश्किल छ।
नयाँ रिपोर्टअनुसार सामसङले आफ्ना खुद्रा बिक्रेताहरुलाई जुलाइमा स्मार्टफोनको आपूर्ति ७० प्रतिशतसम्म कम हुन सक्ने जानकारी गराइसकेको छ।
यसबाहेक एप्पल, शाओमी, वनप्लस तथा रियलमीजस्ता अरु स्मार्टफोन कम्पनीका साथै एचपी, डेल, लेनोभोजस्ता ल्यापटप कम्पनीको आपूर्तिमा पनि नराम्रो प्रभाव पर्ने देखिएको छ।
साथै कार कम्पनीको आफूर्तिमा पनि यो अवस्थाले प्रभाव पार्नेछ। यी उद्योगको अवस्था सेमिकन्डक्टर चिपको माग र आपूर्ति बराबर नहुन्जेलसम्म सामान्य अवस्थामा फर्किने छाँट देखिँदैन।
ल्यापटप तथा टीभीको आपूर्तिमा पनि प्रभाव
अन्तरराष्ट्रिय बजारमा चिप तथा अन्य पार्टपुर्जा तीव्ररुपमा कमी हुँदै आएको छ। यसबाट गत वर्ष यी उद्योगमा समस्या आएको थियो।
भारतलगायत विश्वका धेरै देशमा स्मार्टफोन, ल्यापटप, टीभी तथा इन्टरनेटसँग सम्बन्भित डिभाइसहरुको आपूर्तिमा नराम्रो असर परेको थियो।
ताइवान तथा भियतनाममा कोभिड मुख्य कारण
सेमिकन्डक्टर चिप धेरै उत्पादन गर्ने देशहरु ताइवान तथा भियतनाममा पछिल्लो समय कोभिडको महामारी तीव्ररुपमा बढेको छ।
कोरोनाका कारण कामदाहरु उपलब्ध नहुने तथा उद्योगहरु बन्द गर्नुपरेका कारण चिप उत्पादनमा लक्ष्यभन्दा निकै कम मात्र उत्पादन हुन सकेको छ। यसै कारण विश्वमा सेमिकन्डक्टर चिपको अभाव झन् बढ्दै गइरहेको छ।
प्रकाशित: २८ असार २०७८, सोमबार