नेपाल टेलिकमका कर्मचारीहरुले सरुवाका लागि अब अनलाइनबाटै आवेदन दिनसक्ने

  • Technology Khabar | २७ असार २०७८, आईतवार
नेपाल टेलिकमका कर्मचारीहरुले सरुवाका लागि अब अनलाइनबाटै आवेदन दिनसक्ने

काठमाडौं ।

नेपाल टेलिकमका कर्मचारीहरुले आफूले रोजेको कार्यालयमा सरुवा भएर जानका लागि अनलाइन मार्फत सरुवाको निवेदन पेश गर्नसक्ने भएका छन् ।

टेलिकमको प्रमुख मानव संसाधन अधिकृतको कार्यालयले यसका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

कर्मचारीले कार्यरत कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुनका लागि अनलाइन वेबपोर्टलमार्फत आवेदन दिन https://chro.ntc.net.np/ लगइन गर्नुपर्ने टेलिकमले जानकारी दिएको छ।

शुरुमा कर्मचारीले आफ्नो नाम र कर्मचारी नम्बर राखेपछि ‘भ्यालिडेट नाउ’ गर्नुपर्छ । त्यसपछि कर्मचारीको मोबाइलमा ओटीपी कोड उपलब्ध हुन्छ । सोही कोड राखेपछि मुख्य पेज खुल्छ ।

मुख्य पेजमा कर्मचारीको व्यक्तिगत जानकारी र हालको कार्यालय तथा सुपरिवेक्षकको जानकारी राखिएको हुन्छ । त्यसपछि सम्बन्धित कमचारीका लागि आगार्मी दिनमा सरुवा हुन उपयुक्त केही कार्यालयहरुको सूची त्यहाँ पाउन सकिन्छ। कर्मचारीले ती कार्यालय मध्ये आफूलाई उपर्युक्त हुने कुनै ३ कार्यालय छनोट गर्न सक्दछन् ।

यदि त्यहाँ उपलब्ध भन्दा अन्य कार्यालयमा आफूलाई सरुवा हुन उपयुक्त लागेमा सो कार्यालय समेत आवेदनमा उल्लेख गर्न सकिने व्यवस्था गरिएको छ । तर आफूले खोजेको कार्यालयमा सरुवा भएमा कम्पनीलाई के फाइदा हुन्छ भन्ने बारेमा छोटकरीमा उल्लेख गर्नु पर्नेछ। यी सबै जानकारी भर्दा त्यहाँ उल्लेख गरिएका सुपरिवेक्षक मध्ये आफूसँग सम्बन्धित कुनै एक जना सुपरिवेक्षक पनि छनोट गर्नुपर्छ।

सबै जानकारी उल्लेख गरेपश्चात फर्म सबमिट गर्न सकिनेछ। यसरी बुझाएको आवेदनको जानकारी सम्बन्धित सुपरिवेक्षकको इमेल तथा मानव संसाधन व्यवस्थापन विभागमा प्राप्त हुने र सुपरिवेक्षकले इमेलमा प्राप्त लिंक खोली उक्त आवदनमा रहेका ३ विकल्पमध्ये एउटा छनोट गरी फर्वार्ड गर्न सक्नेछन् । प्रमुख मानव संसाधन अधिकृतको कार्यालयले यसरी आएको आवेदनको आधारमा सरुवाका लागि आवश्यक प्रक्रिया अपनाउन सक्ने बताईएको छ ।

नेपाल टेलिकमले हालै शुरुवात गरेको सो अनलाइन आवेदन आगामी दिनमा प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार