दुर्गमको विद्यालयमा अनलाइन कक्षा सञ्चालन

  • Technology Khabar | २७ असार २०७८, आईतवार
दुर्गमको विद्यालयमा अनलाइन कक्षा सञ्चालन

काठमाडौं ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा सञ्चालित कैलाशबोधी विद्यालयले अनलाइन कक्षा सुरु गरेको छ । लामो समय भौतिक उपस्थितिमा पठनपाठन बन्द भएपछि पहिलो पटक विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेको हो ।

विद्यालयका प्रधानाध्यापक छवाङ लामाले कोरोनाका कारण नयाँ शैक्षिक सत्र सुरु भए पनि पठनपाठन सुरु नभएका बेला विकल्पका रूपमा अनलाइनबाट कक्षा सुरु गरिएको बताए ।

शिक्षासँग सरोकार राख्ने निकायले भौतिक रूपमा पठनपाठन सुचारु गर्न पनि नसक्ने र कुनै विकल्प पनि दिन नसकिरहेको बेला उक्त विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन सुचारु गरको छ। हुम्लामा अनलाइन कक्षा सञ्चालन गर्ने प्रयास सफल भएको छ ।

प्रअ लामाले पठनपाठनलाई सुरु गर्न कुन निकायसँग समन्वय गर्ने भन्नेबारे अलमल रहेका बेला विद्यालय व्यवस्थापन समितिको बैठकले परीक्षणका रूपमा अनलाइनबाट कक्षा सुरु गर्ने निर्णय गरी पढाइ सुरु भएको बताए ।

हाललाई पाँचदेखि आठ कक्षासम्मको पठनपाठन सुरु गरिएको छ । उनले सुरुका दिनमा दुई/तीन जना विद्यार्थी मात्र अनलाइन कक्षामा सहभागी भए पनि त्यो सङ्ख्या बढेर सबै कक्षामा १५/१५ जनासम्म पुगेको जानकारी दिए ।

गाउँ–गाउँमा रहेका अभिभावकहरू सम्पर्कमा आएर छोराछोरीलाई सदरमुकाममा पठाउन थालेकाले यसलाई रोक्न विद्यालयले अनलाइन कक्षा सुरु गरेको र प्रयास सफल हुन थालेको विद्यालयले जनाएको छ ।

हाल यहाँ अनिवार्य विषयहरू अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषयको पढाइ भइरहेको छ । विद्यालयले कक्षा शिक्षकलाई तालिका बनाएर कोड नम्बर र पासवर्डको व्यवस्था गराएको छ। अब विद्यालयले साना कक्षाको पठनपाठन पनि सुचारु गर्ने तयारी गरको जनाएको छ ।

अभिभावक लक्ष्मण बोहराले अनलाइन कक्षा सुरु भएकाले गाउँमा रहेका छोरालाई सिमकोट बोलाएर पढाइमा सहभागी गराएको बताए । हुम्लाका अन्य कुनै पनि विद्यालयमा यसरी पठनपाठन सुरु हुन सकेको छैन् । गोरखापत्र

प्रकाशित: २७ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार