काठमाडौं ।
बुटवल उपमहानगरपालिकाले नगरको सूचना प्रणालीलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै बुटवललाई डिजिटल सहर बनाउने अभियान प्रारम्भ गरेको छ ।
नागरिकको घरदैलोमा रहेका स्थानीय सरकारबाट प्राप्त हुने सेवाको कागजी प्रक्रिया निकै झञ्झटिलो र लम्बेतान हुने भएकाले सेवा लिन नागरिकलाई जटिल हुने गरेपछि बुटवल उपमहानगरले त्यसलाई व्यवस्थित बनाउने योजनाअनुसार डिजिटलाइजेसनको अभियान सुरु गरेको हो ।
बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले सेवा प्रवाहलाई प्रविधियुक्त र अझ व्यवस्थित बनाउन पहल गरिएको बताए । डिजिटल सहर बनाउने क्रममा अब करदाताले नगरपालिकाले सङ्कलन गर्दै आएको एकीकृत सम्पत्ति कर, घर बहाल कर, अन्य व्यवसाय कर, सरसफाइ सेवा शुल्क, अचल सम्पत्ति मूल्याङ्कन शुल्क, नक्सा पास दस्तुर, ठेक्कापट्टा नवीकरणलगायतका राजस्व जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख सुवेदीले जानकारी दिए ।
उपमहानगर प्रमुख सुवेदीले कर तिर्न लाइन बस्नुपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाता अझै प्रोत्साहित हुने भएकाले राजस्वलगायतका सूचना प्रणालीका कामलाई डिजिटल प्रणालीबाट सुरु गरिएको बताए । राजस्व तिर्ने सेवाग्राहीलाई घरै बसेर अनलाइनबाट तिर्न मिल्ने बनाइदिएपछि अहिले नगरवासीलाई निकै राहत भएको छ।
उपमहानगरपालिका र यसअन्तर्गतका १९ वटै वडामार्फत अनलाइन प्रणालीबाट राजस्व सङ्कलन सुरु गरिएको हो । यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने भएको छ।
डिजिटल प्रविधिको कारोबारलाई थप व्यवस्थित र विश्वसनीय बनाउँदै समुदायमा वित्तीय साक्षरताको विकास गर्न आर्थिक वर्ष ०७८/७९ मा कार्यक्रम तय गरिएको उनले जानकारी दिए । बुटवल आर्थिक केन्द्रसमेत भएकाले आर्थिक गतिविधिलाई डिजिटल बनाउँदै सेवाग्राहीलाई सहज सेवा प्रवाह उपलब्ध गराउनु नगरको प्रतिबद्धता रहेको बताए।
उपमहानगर प्रमुख सुवेदीले भने, “डिजिटल बुटवलको सपना साकार पार्न हामी तत्परतासाथ लागिरहेका छौँ ।”
उपमहानगरलाई सेवा केन्द्रका रूपमा विकास गर्ने प्रतित्रबद्धता व्यक्त गरेका प्रमुख सुवेदीले व्यवस्थित अभिलेखीकरण र सूचना प्रणालीबाट नै योजना तर्जुमा गर्न सहज हुने भएकाले प्रविधिलाई प्राथमिकतामा राखिएको बताए। गोरखापत्रबाट
प्रकाशित: २२ असार २०७८, मंगलवार