र्यान्समवयर हमलापछि स्विडेनको कूप सुपरमार्केटका ५०० स्टोर बन्द

  • Technology Khabar | २० असार २०७८, आईतवार
र्यान्समवयर हमलापछि स्विडेनको कूप सुपरमार्केटका ५०० स्टोर बन्द

काठमाडौं ।

स्विडेनमा रहेको कूप सुपरमार्केटका लगभग ५०० स्टोर साइबर हमलाका कारण बन्द भएका छन्।

विश्वव्यापी रुपमा भइरहेका साइबर हमला अन्तर्गत उक्त कम्पनीमा पनि क्षति पुर्याउने उद्देश्यले र्यान्समवयर हमला भएपछि कम्पनी आफ्ना स्विडेनमा रहेका उक्त सङ्ख्याका स्टोरहरु बन्द गर्न बाध्य भएको हो।

यस सम्बन्धमा कूप स्विडेनले शुक्रबार आफ्ना देशभरमा रहेका ८०० मध्ये आधाभन्दा बढी स्टोरका प्वाइन्ट अफ सेल र सेल्फ सर्भिस चेक आउट चल्न छाडेपछि बाध्य भएर बन्द गर्नुपरेको बताएको छ।

ह्याकरहरुले यो सुपरमार्केटलाई मात्र नभइ लक्षित गरेको नभइ कम्पनीले चलाउने सफ्टवयर प्रदायक कम्पनीमा हमला गरेकाले कूप लगायत थुप्रै सङ्ख्याका संस्थाहरु प्रभावित भएको बुझिएको छ।

साइबर अनुसन्धाताका अनुसार उक्त विशाल र्यान्समवयर हमलाबाट २०० भन्दा बढी व्यापारमा नकारात्मक असर परेको र यसको मुख्य प्रभाव अमेरिकामा परेको छ।

साइबर सुरक्षा संस्था हन्ट्रेस ल्याबले उक्त समूहले एउटै कम्पनीको सफ्टवयर प्रयोग गर्ने विभिन्न कर्पोरेट कम्पनीको नेटवर्कमा घुस्नुअघि उक्त सफ्टवयर बनाउने फ्लोरिडामा रहेको सूचना प्रविधि कम्पनी कासेयालाई लक्षित गरेको बताएको छ।

यो हमलामा रुससँग सम्बन्धित रिभिल र्यान्समवयर समूहको हात रहेको हुनसक्ने हन्ट्रेस ल्याबको अनुमान छ।

यस सम्बन्धमा कासेयाले आफ्नै वेबसाइटमा एउटा विज्ञप्ति निकालेर उक्त सम्भाव्य हमलाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

अमेरिकाको साइबर सुरक्षा तथा संरचना नियोगले एउटा विज्ञप्तिमार्फत् उक्त हमलालाई सम्बोधन गर्न आवश्यक कदम चालिएको र कासेया सफ्टवयरका यूजरलाई तत्काल उक्त सफ्टवयर बन्द गर्न पनि आग्रह गरेको छ।

यसैगरी बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कासेयामा भएको साइबर हमलाबारे जानकार रहेको र यसको प्रभावबारे बुझ्न भरमग्दुर प्रयास गरिरहेको बताएको छ।

प्रकाशित: २० असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...