नासाद्वारा जेट विमानले उत्पन्न गरेका सुपरसोनिक शक वेभको तस्बिर सार्वजनिक

  • Technology Khabar | १७ असार २०७८, बिहीबार
नासाद्वारा जेट विमानले उत्पन्न गरेका सुपरसोनिक शक वेभको तस्बिर सार्वजनिक

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष नियोग नासाले जेट विमान उड्दा हावामा देखिएका तीन ओटा सुपरसोनिक शक वेभको तस्बिर सार्वजनिक गरेको छ।

यी तीन ‌ओटा तस्बिरमा दुई ओटा ६-३० ट्यालोन नामको दुई सिट भएको तालिम दिनका लागि प्रयोग हुने जेट विमान हावामा उड्दा उक्त हावामा विमानको चापबाट सिर्जित कम्पन देखाइएको छ।

यो तस्बिर गएको बुधबार सार्वजनिक भएको भए पनि नासाले यसलाई सन् २०१९ मा एयर-टू-एयर फोटोग्राफिक टेक्नोलोजी प्रयोग गरेर खिचेको थियो।

यी जेट विमान उड्दा हावामा आउने कम्पनलाई मान्छेको आँखाले देख्न सक्ने गरी यस्तो फोटो त्यतिबेला इतिहासमै पहिलो पटक लिइएको हो।

यसबारेमा आफ्नो एउटा इन्स्टाग्राम पोस्टमा नासाले भनेको छ, ‘व्यवधान छिचोल्नु यति सुन्दर होला भन्ने कसलाई थाहा थियो र?’

कम्पनीले जेट विमानहरु आवाजभन्दा तीव्र गतिमा उड्दा उत्पन्न हुने कम्पन धेरै परसम्म पुग्ने र जमीनमा सोनिक बूमका रुपमा उक्त आवाज कसरी सुनिने गर्छ भनेर उक्त पोस्टमा व्याख्या गरिएको थियो।

सार्वजनिक गरिएका दुई तस्बिरहरुमा रंग लगाइएको छ भने एउटामा आधिकारिक मोनोक्रोम्याटिक अवस्थामै रहेको छ।

‘यी तस्बिरहरु हाम्रा अनुसन्धान विमानहरुमा राखिएका अत्याधुनिक क्यामरा सिस्टमका उपज हुन्’, नासाले भनेको छ, ‘अनुसन्धानकर्ताहरुले यी तस्बिरलाई सोनिक बूमलाई कम गर्ने हाम्रो प्रयास अनुरुप शक वेभका बारेमा अध्ययनका क्रममा प्रयोग गर्नेछन्। यसले भविष्यमा जमिनमाथि नै सुपरसोनिक उडान गर्ने सम्भावनालाई मूर्तरुप दिन पनि सक्छ।’

दुई-ओटा टी-३८ जेट विमान ३० फीट अगाडिपछाडि र १० फीट तल माथिको फरकमा उडिरहेका बेला पहिलो पटक दुवै विमानको कम्पन र एक अर्काको कम्पनबीचको प्रतिक्रिया पनि देखिएको नासाले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

यो तस्बिर लिनका लागि नासाले एउटा बी-२०० विमानमा तस्बिर लिने सबै प्रविधि राखेर ३० हजार फीटमाथि उडाएको थियो। तस्बिरका लागि दुवै जेट सुपरसोनिक गतिमा एक अर्कासँग तालमेलमा रहेर बी-२०० विमानको ठिक तलपट्टि उडिरहेको हुनुपर्थ्यो। यी तस्बिरहरु नासाको टोलीले रुपरेखा तयार पारे झैं तीनै ओटा जेट आ-आफ्ना ठाउँमा आवश्यकताअनुसारको गतिमा रहेका बेला लिन सम्भव भएको हो।

नासाका अनुसन्धाताहरुले  यी तस्बिरहरु एक्स-५९ क्वाइट सुपरसोनिक टेक्नोलोजी एक्स विमानक डिजाइनका बेला शक वेभको अध्ययन गर्नका लागि प्रयोग गर्नेछन्।

यो प्रविधि सफल भएमा एक्स-५९ सुपरसोनिक गतिमा उड्दा पनि सोनिक बूमको सट्टा हल्का आवाजमात्र सुनिने नासाको भनाइ छ।

प्रकाशित: १७ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार