मोबाइल लोकेसनको सहयोगले अभियुक्त पक्राउ

  • Technology Khabar | ११ असार २०७८, शुक्रबार
मोबाइल लोकेसनको सहयोगले अभियुक्त पक्राउ

काठमाडौं ।

अपराध अनुसन्धानका लागि पीडित तथा पीडकले प्रयोग गर्ने सूचना प्रविधि उपकरण (मोबाइल) महत्वपूर्ण आधार बन्ने गरेको छ । यही प्रविधिको सहयोगबाट दक्षिणकाली जंगलमा मृत भेटिएकी २७ वर्षीया सन्तोषी सुब्बाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख चन्द्रकुवेर खापुङका अनुसार, मंगलबार साँझ हत्या घटनास्थल नजिक सम्पर्कमा रहेका मोबाइल फोनहरुको पहिचान गरी अनुसन्धान गर्दा सन्तोषी हत्या घटनामा संलग्न सहचालक २९ वर्षीय सुरेश तिमिल्सेना कमलाक्षीबाट पक्राउ परेका हुन ।

सिन्धुपाल्चोक चौतारा साँगाचोक घरभई हाल ‘रत्नपार्क–दक्षिणकाली’ रुटमा चल्ने बसका सहचालक तिमिल्सेनाले चिनजान भएको आठ घण्टामै सन्तोषीको विभत्स ढंगले हत्या गरेको प्रहरीसँगको बयानमा खुलाएका हुन् ।

उनीहरुबीच फोन सम्पर्क नदेखिए पनि घटनास्थल नजिक रहेका विभिन्न मोबाइल फोन नम्बर संकलन गरी अनुसन्धान गर्दा हत्या घटनाको २४ घण्टामै अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको हो । घटनास्थल अनुसन्धानमा तालिम प्राप्त कुकुर समेत अलमलिएको थियो ।

‘सन्तोषीको हत्या हुनुमा जबरजस्ती करणी मुख्य कारण रहेको छ । जबरजस्ती करणीविरुद्ध सन्तोषीले प्रतिवाद गरेको देखिन्छ, अभियुक्त तिमिल्सेनालाई बिहीबार सार्वजनिक गर्दै कार्यालय प्रमुख खापुङले भने ।

मदिराले मातेका अभियुक्त तिमिल्सेनाले सन्तोषीको घाँटीमा सलको पासो लगाई अनुहार समेत कसैले चिन्न नसक्ने गरी ढुङ्गाले हिर्काएर विभत्स ढंगले हत्या गरेको अवस्थामा मंगलबार विहान जंगल परिसरमा शौचालय नजिक शव फेला परेको हो ।

प्रहरीका अनुसार, दक्षिणकालीकै एक होटलमा मदिरा खाइरहेका तिमिल्सेना र सन्तोषीबीच सोही दिन विहान सामान्य चिनजान भएको हो । उनीहरुले बोक्ने फोनको ‘लोकेशन’ होटलदेखि शौचालयसम्म संगसँगै थियो । सो आधारले प्रहरीलाई अभियुक्त नजिक पुग्न सजिलो बनाएको हो । गोरखापत्रबाट

प्रकाशित: ११ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार