
काठमाडौं ।
करिब डेढ महिनापछि मोबाइल तथा ल्यापटपका पसलहरु सञ्चालनमा आएपनि व्यवसाय उत्साहप्रद नभएको व्यवसायीहरुले बताएका छन्।
आजदेखि प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो पार्दै बार अनुसार मोबाइल ल्यापटपलगायत इलेक्ट्रोनिक्स सामाग्री कारोबार गर्ने पसलहरु सञ्चालन गर्न अनुमति पाएसँगै मोबाइल व्यवसायको हब मानिएको पाको न्यूरोडका पसलहरु आजदेखि सञ्चालनमा आएका छन् ।
पाको न्यूरोडमा नै रहेको ताम्राकार मोबाइल कम्प्लेक्समा पनि आजदेखि कारोबार शुरु भएको छ ।
मोबाइल व्यवसायी संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले मोबाइलको बिक्री बितरण खुलेपनि व्यवसाय अपेक्षाअनुसार नभएको अनुभव सुनाए ।
‘आजदेखि मोबाइलका सबै पसलहरु खुला भएका छन् तर बिक्री भनेअनुसार भएको छैन् । पसलमा ग्राहकहरु नै न्यून संख्यामा छन्,’ अध्यक्ष साउदले टेक्नोलोजीखबरसँग भने ।
मोबाइल मात्र नभई ल्यापटपको कारोबार पनि सुस्त भएको व्यवसायीहरुले बताएका छन् । यसअघि नै मानिसहरुले आफूलाई चाहिने उपकरणहरुको व्यवस्था गरिसकेको हुँदा माग वृद्धि नभएको क्यान महासंघका उपाध्यक्ष रंजित पोद्दारले जानकारी दिए ।
‘आजदेखि सूचना प्रविधिका सामाग्रीहरु बिक्री गर्ने व्यवसाय खुला भएका छन् । केहि जिल्लामा पनि प्रशासनको निर्देशनअनुसार कारोबार खुलेका छन् । तर माग निकै कम रहेको छ,’ क्यान महासंघका उपाध्यक्ष पोद्दारले भने ।
‘लकडाउन अगाडी नै प्रयोगकर्ताहरुले आफूलाई चाहिने ल्यापटप, मोबाइल लगायतका डिभाइसहरु किनिसकेका छन् । त्यसैले पसलमा नै आएर किन्ने ग्राहकहरु र सोधपुछ निकै न्यून छ,’ उपाध्यक्ष पोद्दारले भने ।
‘उनकाअनुसार विदेशबाट कम्प्यूटर, ल्यापटपलगायतका सामाग्रीहरु ल्याउन समेत कठिन भएकोछ ।
‘विदेशबाट नियमित फ्लाईट नभएको र चार्टर फ्लाईटमा ल्याउँदा महंगो शुल्क लाग्ने हुँदा डिभाइस महंगो हुने भनेर सामान आपूर्ति नै आएको छैन्,’ उनले भने ।
त्यसैगरि नेपाली बजारमा अग्रस्थानमा रहेको टेक ब्राण्ड शाओमीका मार्केटिङ्ग म्यानेजर प्रकाश सुवेदीले लकडाउनको समयमा पनि मोबाइलको कारोबार भईरहेको हुँदा सोहिअनुसार नै बजार खुल्दा व्यवसाय भईरहेको जानकारी दिए ।
‘आजदेखि मात्र व्यवसाय खुला भएको हुँदा माग सामान्य रहेको देखिन्छ । केहि दिनपछि मोबाइलको बिक्री बढ्ने अपेक्षा गरेका छौं,’ मार्केटिङ्ग म्यानेजर सुवेदीले टेक्नोलोजीखबरसँग भने ।
प्रकाशित: ८ असार २०७८, मंगलवार