
काठमाडौं ।
क्याननको चीनमा रहेको कार्यालय क्यानन इन्फर्मेशन टेक्नोलोनजीमा हालै आरटिफसियल इन्टेलिजेन्सयुक्त क्यामरा जडान गरिएको छ।
देशभर रहेका कम्पनीका कार्यालयमा जडित ती क्यामराले मुस्कानसहितको अनुहार मात्र चिन्ने र प्रवेशको इजाजत दिने बुझिएको छ।
यसको मतलब रिसाएर वा मुस्कानबिना कार्यालय आउने कर्मचारीलाई यो सिस्टमले भित्र छिर्न दिँदैन। यसमा ‘स्माइल रिकग्निशन’ प्रविधियुक्त एआई प्रणाली अपनाइएको छ।
यी क्यामरा राख्नुको उद्देश्य कार्यालयका कर्मचारी सधैं पूर्णरुपमा खुशी रहुन् भन्ने हो। कर्मचारीले कार्यस्थलका कोठामा छिर्न वा मिटिङ बुक गर्न पनि मुस्कुराउनु पर्ने हुन्छ। तर वास्तवमै विभिन्न कारणले बेखुशी रहेको कर्मचारीले भने यसमा बनावटी मुस्कान देखाउनुपर्ने हुन्छ।
गत वर्ष आर्टिफिसियल इन्टेलिजेन्सको पेटेन्ट संख्यामा चीनले अमेरिकालाई उछिन्यो। यसै कारण पनि जापनी कम्पनी क्याननले आफ्नो नयाँ प्रविधिको परीक्षणका लागि चिनियाँ कम्पनीलाई छानेको हुन सक्छ।
क्याननले यो स्माइल डिटेक्शन प्रणाली गत वर्ष आफ्नो ‘कार्यस्थल व्यवस्थापनको साधन’ का रुपमा अगाडि ल्याएको थियो।
प्रकाशित: ७ असार २०७८, सोमबार