
काठमाडौं ।
काठमाडौं, १९ कात्तिक । माइक्रोम्याक्सले निकै समयको प्रतिक्षापछि क्यानभास ५ (Canvas 5) स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सका सिईओ बिनीत तनेजाले भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा क्यानभास ५ स्मार्टफोन सार्वजनिक गरेका हुन् ।
कम्पनीको क्यानभास सिरिजको फोन निकै लामो समयपछि बजारमा आएको छ । माइक्रोम्याक्सले क्यानभास ४(Canvas 4) स्मार्टफोन सन् २०१३ मा विश्व बजारमा सार्वजनिक गरेको थियो ।
माइक्रोम्याक्स क्यानभास स्मार्टफोनमा ५.२ इन्चको फुल एचडी डिस्प्ले रहेको छ जसको रिजोल्यूशन १०८०X१९२० रहेको छ । यसको डिस्प्लेलाई कोर्निग गोरिल्ला ग्लासद्धारा सुरक्षित गरिएको छ । यो फोनको डिस्प्लेमा ४३ पिक्सेल प्रति इन्चको पिक्सेल डेन्सिटी राखिएको छ । 
यो फोनमा मिडिया टेकको १.३ गीगाहर्जको अक्टा कोर एमटीके ६७५३ प्रोसेसर राखिएको छ भने ३ जीबीको र्याम रहेको छ । फोनमा १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।
माइक्रोम्याक्स क्यानभास ५ मा एलईडी फ्ल्याशसहितको १३ मेगापिक्सेलको सामसुंग ३एम२ इमेज सेन्सरसहितको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।
यो फोनमा २९०० एमएएचको ब्याट्री राखिएको छ भने फोनमा कन्टेन्ट एडोप्टेबल ब्याकलाइट कन्ट्रोल फीचर उपलब्ध रहेको छ । यसले पावर म्यानेजमेन्टको काम गर्दछ । यसले स्क्रीनमा कुनै सामाग्री हेरिरहेको बेलामा अटोमेटिक उज्यालोपनालाई नियन्त्रण गर्दछ र ब्याट्री पावरको बचत हुन्छ ।
दुई सिम प्रयोग गर्न सकिने यो स्मार्टफोनमा ओटिजी (OTG) फीचर पनि रहेको छ । यसले यूएसबी अन दि गो फीचर जस्तै काम गर्दछ । यो फीचर मोबाइल फोनमा राखिएपछि अन्य यूएसबी डिभाइजहरु जस्तो फ्ल्याश ड्राइभ, यूएसबी कि बोर्ड, डिजिटल क्यामरा सिधै जोडेर प्रयोग गर्न सकिन्छ । ओटिजी सर्भिसद्धारा डिभाइसलाई क्लाइन्ट तथा होस्ट दुबै बनाउन सकिन्छ । यो फीचरद्धारा डाटा शेयर गर्न सकिन्छ ।
एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित यो मोबाइलमा पिक्चर इन पिक्चर फीचर राखिएको छ जसले रियर तथा फ्रन्ट क्यामराबाट एकै समयमा फोटो खिच्न सकिन्छ । त्यस्तै यसमा स्मार्ट वेक फीचर पनि राखिएको छ । फोनमा कनेक्टिभिटीका लागि फोरजी एलटीई, वाईफाई, जीपीएस तथा ब्लूटूथ अप्शन रहेको छ ।
माइक्रोम्याक्सले भारतीय बजारमा सबैभन्दा पहिलो सार्वजनिक गरेको यो फोन सेभेन डे सर्भिस स्कीमसहित उपलब्ध रहेको छ । कम्पनीले यो फोनको सर्भिस ७ दिनभित्र गर्ने दाबी गरेको छ ।
माइक्रोम्याक्स क्यानभास ५ स्मार्टफोन ग्रे तथा ट्यान कलरसहित बजारमा उपलब्ध हुनेछ जसको मूल्य भारतमा ११ हजार ९ सय ९९ रुपैंया करिब १८५ अमेरिकी डलर तोकिएको छ ।
प्रकाशित: १९ कार्तिक २०७२, बिहीबार