Technology Khabar १९ बैशाख २०७८, आईतवार
काठमाडौं ।
नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले आगामी दिनमा न्यून आय भएका र गरिब घर परिवारलाई पनि प्रविधिको पहुँचमा ल्याउनुपर्ने बताएका छन् ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बोल्दै उनले निजी संघसंस्थाहरुले सामाजिक सेवा बापत छुट्याउनुपर्ने १ प्रतिशत रकमलाई शिक्षा र स्वास्थ्यकालागि प्रविधिको विकास र बिस्तारमा खर्च गर्न सकिनेमा सरकारको ध्यानाकर्षण गराएका थिए।
उनले निजी क्षेत्रले प्रविधिलाई निकै महत्व दिएको भन्दै एफएनसीसीआईद्धारा हालै सार्वजनिक गरिएको भिजन पेपरमा सूचना प्रविधि बारे १४ वटा योजना राखिएको बताए ।
‘यसमध्ये आधा तत्काल सम्बोधन गर्न सकिने छ भने प्रविधिको विकास मात्र नभई बिस्तार पनि गर्नुपर्ने देखिन्छ । नत्र प्रविधिको प्रयोगले असामताना बढाउनसक्छ,’ उनले भने ।
अध्यक्ष गोल्छाले गरिब परिवार र न्यून आय भएका बालबालिकालाई पनि कम्प्युटरको सुबिधामा पहुँच दिनुपर्ने भन्दै नत्र यसले असमानता ल्याउन सक्ने अवस्था देखिएकोमा सबैलाई सचेत गराएका थिए ।
प्रविधिले औद्योगिक लागत समेत कम गरेको तर स्वदेशी उद्योगहरुमा प्रविधिको प्रयोग अझै पछाडी रहेको भन्दै त्यसको लाभ लिन नसकेको उनले चिन्ता व्यक्त गरेका थिए ।
त्यसैगरि अध्यक्ष गोल्छाले प्रविधिको क्षेत्रमा रहेका उद्योगी व्यवसायीहरुलाई पनि गुणस्तरीय वस्तु र सेवा मात्र उपलब्ध गराउन आग्रह गरेका छन् ।
‘नत्र ग्राहकहरुले समेत त्यस्ता सामानहरु अस्वीकार गर्ने र सरकारले पनि भविश्यमा कडा कानून ल्याउन बाध्य हुनसक्ने छ । त्यसैले सबैले गुणस्तरमा ध्यान दिन आग्रह गर्दछु, गोल्छाले भने ।
प्रकाशित: १९ बैशाख २०७८, आईतवार