
काठमाडौं ।
दैलेख जिल्लामा जोखिममा रहेका बालबालिकालाई राहत, पुनःस्थापना, गुनासो तथा सहयोगका लागि दैलेखको गुराँस गाउँपालिकाले पैसा नलाग्ने टोल फ्रि नम्बर उपलब्ध गराएको छ । स्थानीय तहमा गुनासो सुनुवाइ गर्न बनेको कार्यविधि २०७७ बमोजिम सो गाउँपालिकामा टोल फ्रि नम्बर स्थापना गरिएको हो ।
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले स्थानीय सरकारले गुनासो सुनुवाइ कार्यविधि स्वीकृत गरेपछि टोल फ्रि नम्बरको व्यवस्था गरिएको बताए । उनले जोखिममा परेका बालबालिकाको आपतकालीन उद्धार, राहत, उपचार, परामर्शलगायतका सामाजिक तथा संस्थागत पुनःस्थापना गर्न टोल फ्री नम्बर आवश्यक भएकाले यो सुविधा दिएको जानकारी दिए । पालिकाको टोल फ्री नम्बर १६६०८९११००० र ९८५८०३५१४४ मा बालबालिकालगायत अन्य सेवासँग सम्बन्धित गुनासा,सुझाव तथा जिज्ञासा राख्न अध्यक्ष ओलीले सबैलाई आग्रह गरेका छन् ।
टोल फ्रि नम्बरमा आएका गुनासालाई सुनुवाइ समितिमा छलफल गरिने बताइएको छ । गुनासोको प्रकृति हेरी तत्काल समाधान गर्न पहल गरिने पनि गापाले जनाएको छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका बालसंरक्षण संयोजक निर्मल अधिकारीले जोखिममा रहेका बालबालिकालाई तत्काल राहत तथा पुनःस्थापना गर्न टोल फ्रि नम्बरले सहयोग गर्ने बताए । बालबालिकाका आधारभूत आवश्यकता पूरा गर्न र बालबालिकाप्रति हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न निःशुल्क टोल फ्रि नम्बरले सहयोग गर्ने उनले उल्लेख गरे । गोरखापत्रबाट
प्रकाशित: १६ बैशाख २०७८, बिहीबार