
काठमाडौं ।
नेपाल एसबिआई बैंकले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गरेको छ । जसको लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो ।
उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्टआईपीएस अथवा एनसीएचएल/आईपीएसमा रियल/टाइम वा नन/रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिने छन् ।
यस कर्पोरेटपे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास बैंकले गरेकोछ ।
यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अन्लाईन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकलाई अझ बढि सहज हुने बैंकले जनाएको छ ।
प्रकाशित: ३० चैत्र २०७७, सोमबार