एलजीले स्मार्टफोन क्षेत्रलाई दिएका ७ इनोभेशनहरु

  • Technology Khabar | ३० चैत्र २०७७, सोमबार

काठमाडौं ।

एलजीले आफ्नो स्मार्टफोन व्यवसाय बन्द गर्ने घोषणा गरिसकेको छ। यो घोषणा गर्नुमा एलजीका फोनले अरुसँग प्रतिस्पर्धा गर्न नसकेको वा प्रविधिमा पछाडि परेकोले होइन बरु विश्व बजारमा घाटा ब्यहोर्नुपरेकोले अरु व्यवसायमा हात हाल्नका लागि गरिएको हो। प्रविधिका हिसाबले हेर्ने हो भने एलजीले स्मार्टफोनका क्षेत्रमा केही उल्लेख्य नवीन प्रविधिहरुको योगदान दिएको छ।

१. क्यापासिटिभ टच स्क्रीन डिस्प्ले

सामान्यतया क्यापासिटिभ टच स्क्रीन डिस्प्लेको कुरा गर्दा अधिकांशले एप्पलले आईफोनमा पहिलोपटक प्रयोग गरेको अड्कल गर्ने भएता पनि सबैभन्दा पहिले क्यापासिटिभ टच स्क्रीन डिस्प्लेको प्रयोग एलजीले सन् २००६ मा आफ्नो एलजी प्राडा स्मार्टफोनमा गरेको थियो।

२. फ्लेक्सिबल ओएलईडी डिस्प्ले

एलजीले पहिलो पटक सन् २०१४ मा जी फ्लेक्स नामको स्मार्टफोनमा कर्भ्ड फ्लेक्सिबल डिस्प्ले प्रयोग गरेको थियो।  यो फोन गर्दा वा उठाउँदा सजिलो होस् भनेर लम्बाइपटि कर्भ गरिएको थियो। यो त्यतिबेलाको लागि ठूलो ६ इन्च डिस्प्ले भएको फ्याब्लेट थियो।

त्यति बेला यसको प्रतिस्पर्धा सामसङको ग्यालेक्सी नोट ३ सँग थियो। हिजोआज हामीले फ्लेक्सिबल डिस्प्ले भएका फोल्डिङ फोनहरु धेरै देखिरहेका छैं जसको शुरुवातको श्रेय एलजीलाई नै जान्छ।

३. मोड्युलर स्मार्टफोन

सन् २०१६ मा एलजीले ल्याएको एलजी जी५ फोन पहिलो मोड्युलर स्मार्टफोन थियो जसमा अन्य थुप्रै एसेसरीहरु जोडेर धेरै कामहरु गर्न सकिन्थ्यो। यसमा मोड्युलहरु देखिँदैनथ्यो भने झिक्न मिल्ने ब्याट्री, डिजिटल टू एनालग कन्भर्टर र क्यामरा ग्रिप मात्रै दिइएको थियो।

४. अल्ट्रा वाइड क्यामरा

एलजी जी५ मोड्युलरले बजार लिन नसकेपनि त्यसमा भएको अल्ट्रा वाइड एङ्गल क्यामराको भने सबैले तारिफ गरेका थिए। यसअघि स्मार्टफोनमा अल्ट्रा वाइड एङ्गल क्यामराको गरिएको थिएन। अहिले सबैजसो मध्यम स्तरका स्मार्टफोनमा अल्ट्रा वाइड क्यामरा हुनु सामान्य जस्तै भएको छ। यसको शुरुवात एलजीले नै गरेको थियो।

५. क्वाड डीएसी

एलजीले सन् २०१६ मै भी सिरिज स्मार्टफोन सार्वजनिक गरेको थियो जसमा उच्च गुणस्तरको अडियोका लागि यसमा क्वाड डीएसी राखिएको थियो।

६. डुअल स्क्रीन एन्ड्रोइड स्मार्टफोन

एलजीले सन् २०१९ मा दुई ओटा स्क्रीन भएको एलजी जी८एक्स नाम भएको एन्ड्रोइड स्मार्टफोन सार्वजनिक गरेको थियो। यसपछि यही फिचर भएको भी५० र भी६० पनि बजारमा उतार्यो। पछि आएको एलजी भेल्भेटले पनि डुअल स्क्रीन सपोर्ट गर्थ्यो।

७. स्विभेल डुअल डिस्प्ले

एलजीले स्मार्टफोन क्षेत्रलाई दिएका बिर्सन नसकिने इनोभेशनहरुमा स्विभेल डुअल डिस्प्ले पनि एक हो। सन् २०२० मा कम्पनीले एलजी स्विङ्ग नाम गरेको स्मार्टफोनमा स्विभेल टी डिस्प्ले दिएको थियो। यसको प्रयोग अन्य कुराहरुभन्दा पनि भिडियो खिच्दा गिम्बलको जस्तो काम गर्नु हो। यसको तल्लो भागको डिस्प्ले आकारमा सानो र खासै उपयोगी थिएन।

प्रकाशित: ३० चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया