
काठमाडौं ।
नासाको पर्सिभेरन्स रोभरले यसमा रहेको इन्जेनुइटी हेलिकप्टरलाई मंगल ग्रहको धरातलमा उतारेको छ। पहिले अप्रिल ८ र हाल आएर अप्रिल ११ मा मंगल ग्रहमा उडान भर्ने तालिका रहेको उक्त विशेष हेलिकप्टर पर्सिभेरन्स रोभरमै रहेको र धरातलमा झार्ने परीक्षण भइरहेको थियो।
नासाको जेट प्रोपल्सन ल्याबले ट्विटरमा इन्जेनुइटीले मंगल ग्रहको धर्तीमा अवतरण गरेको पक्का गर्दै पर्सिभेरन्स रोभरभन्दा केही पर इन्जेनुइटी हेलिकप्टर रहेको फोटो पोस्ट गरेको थियो।
She is alone and must survive the night! pic.twitter.com/xzMes99oi6
— Navaneeth Krishnan S (@navaneeth_ank) April 4, 2021
पर्सिभेरन्स रोभरभित्र रहेको इन्जेनुइटीलाई धरातलमा उतार्न झण्डै १ हप्ता लागेको थियो। रोभरमा रहेको क्यामराले यो प्रक्रियाको सबै दृश्य पठाएको थियो। रोभरनजिकै रहेको इनजेनुइटी आकारमा रोभरभन्दा निकै सानो देखिन्छ।
यसलाई धरातलमा उतारेपछि हेलिकप्टरका सोलर प्यानलमार्फत् ब्याट्री चार्न हुन तथा मंगल ग्रहको चिसो वातावरणमा तातो बनाउन रोभरले यसलाई आफूभन्दा अलि पर स्वतन्त्र छोडिदिएको थियो।
नासाको जेपीएलले ट्विटरमा इन्जेनुइटी रोभरबाट छुट्टिइसकेकाले एक्लै भएको र अर्को मिशन रातभर डटेर बस्नु रहेको पनि उल्लेख गरेको छ।
‘इन्जेनुइटी टिम हेलिकप्टरले अर्को दिन पठाएको खबर सुन्न आतुर भएर बसिरहनेछ’, इन्जेनुइटीका मुख्य इन्जिनीयर बब बलरामले लेखेका छन्।
प्रकाशित: २२ चैत्र २०७७, आईतवार