
काठमाडौं ।
चिनियाँ कम्पनी शाओमीले विद्युतीय कार निर्माणमा हात हाल्ने भएको छ। हालै बाहिर आएको जानकारी अनुसार उक्त परियोजना १ दशकभित्र लागू हुने र प्रारम्भिक चरणमा कम्पनीले १० अर्ब युआन अर्थात् डैढ अर्ब डलर लगानी गर्ने बुझिएको छ।
अर्बपति तथा शाओमीका सह संस्थापक लेइ जुनले स्मार्टफोनभन्दा फरक र अपरिचित क्षेत्रको विद्युतीय गाडीको स्टार्टअप आफ्नै अगुवाइमा सुरु गर्ने घोषणा गरेक हुन्।
यसका लागि कम्पनीले सुरुवातमा १० अर्ब युआन अर्थात करिब डेढ अर्ब डलर लगानी गर्ने र आउँदा बर्षहरुमा लगानी थपेर बृहत् उत्पादनमा जाने बुझिएको छ।
भविष्यमा आउने कारहरु स्वचालित र इन्टरनेटसँग आबद्ध हुने आकलन गरेर कम्पनीले एप्पल इंक देखि ह्वावे टेक्नोलोजिक जस्ता कम्पनीहरुको पदचाप पछ्याउँदै विद्युतीय कारका क्षेत्रमा हात हालेको बुझ्न सकिन्छ।
यस परियोजनाको प्रगति हेर्दै कम्पनीले बढीमा तीन वर्षभित्र १०० अर्ब युरो विद्युतीइ कार उत्पदनको क्षेत्रमा लगानी गर्ने अपेक्षा गरिएको छ। यो सूचना मंगलबारको आधिकारिक घोषणाअघि कम्पनीको आर्थिक मामिला जानकार एक कर्मचारीले नाम नबताउने शर्तमा ब्लूमबर्गलाई दिएका हुन्।
बाहिरिएको जानकारी अनुसार प्रस्तावित रकमको ६० प्रतिशत कम्पनी आफैंले हाल्ने र बाँकी ४० प्रतिशत रकम सेयरमार्फत् सर्वसाधारणसँग उठाउने योजना रहेको छ।
‘हामीले यस परियोजनाका लागि ठूलो आर्थिक स्रोत राखेका छाैं,’ शाओमीका प्रमुख कार्यकारी तथा सह संस्थापक लेइ जुनले बेइजिङको एउटा कार्यक्रममा भने, ‘कार उत्पादन कम्पनीको जोखिमका बारेमा मलाइ राम्रो जानकारी छ। र यो परियोजनामा दशो अर्ब लगानी गर्नुपर्छ र लगानी फिर्ता आउन तीनदेखि पाँच वर्ष लाग्छ भन्ने कुरा पनि मलाइ राम्ररी थाहा छ।’
कम्पनीले यो परियोजनाको सम्पूर्ण जिम्मेवारी आफैंले लिने निर्णय गरेकाले बाहिरका लगानीकर्ताहरुलाई लगानीका लागि इजाजत दिएको छैन। उनले अगाडि भने, ‘यो मेरो करियरको अन्तिम स्टार्टअप हुनेछ।’
विद्युतीय सवारी उत्पादनको क्षेत्रमा हात हाल्ने शाओमी यसअघिका थुप्रै खेलाडीहरुको सूचीमा पछाडि रहनेछ। यस अघि नै टेस्ला इंक, निओ इंक, एक्सपेङ्ग इंक, बाइडु इंक, गीली अटोमोबाइल होल्डिङ्स लि लगायतका कम्पनी हरुले यस क्षेत्रमा खर्बो डलर लगानी र समय खर्च गरिरहेका छन्।
अनुसन्धान संस्था कनालिसको आकलन अनुसार मानिसहरुले स्वच्छ उर्जालाई अँगाल्ने परिपाटी बढेकोले यो वर्ष चीनमा विद्युतीय गाडीको माघ ५० प्रतिशतसम्मले बढ्ने देखिएको छ।
प्रकाशित: १९ चैत्र २०७७, बिहीबार