
काठमाडौं ।
आस्कमी भर्चुअल जब फेयर २०२० को सफलता पछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ। आस्कमी म्यानेजमेन्टले यहि मार्च ३१ देखि एप्रिल २, २०२१ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो।
जब फेयरको पेमेण्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपिएस रहेको छ । आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुवंर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार बिस्तार गर्दै सकरात्मक सन्देश प्रवाह गर्नेछ।
“हामिले पहिलो पटक २०२० मा यो कन्सेप्ट ल्याउँदा नेपालको लागि नयाँ थियो । पहिलो वर्ष नै ४० भन्दा बढि कम्पनीले विश्वास गरेका कारण नै हामिले पूर्ण सफलता का साथ पहिलो संस्करणको भर्चुअल जब फेयर सञ्चालन गरेका थियौं,” कुँवरले भनिन्, “यस पटक पनि ५० भन्दा बढी कम्पनीमा जब दिलाउने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिएको हो ।”
फेयरमा सहभागि हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्नका लागि आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्नु पर्ने हुन्छ । यो पोर्टलबाट जब फेयरमा अनलाइन स्टल राख्न सकिन्छ।
देशभरिका मानिसहरुले एकै साथ यो प्लेटफर्ममा भिजिट गरि आवश्यक्ता अनुसारको रोजगारीका लागि मोबाईल वा कम्प्युटरबाटै आबेदन दिन सकिनेछ । कतिपय कम्पनीहरुले अनलाईन अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ । साथै कर्मचारी भर्ना गर्ने कम्पनीले आफुले चाहे जस्तो कर्मचारि पाउने भएकाले पनि जब फेयर उपलब्धिमुलक हुने अपेक्षा गरिएको छ। यस प्लेटफर्ममा स्वदेश फर्कन चाहने तर बिदेशमा रहेका नेपालीहरुले आफुलाई उपयुक्त रोजगारी पाउने उत्तम विकल्प समेत पाउने आयोजकले दाबी गरेको छ।
प्रकाशित: १८ चैत्र २०७७, बुधबार