एप्पलले नेपालमा पनि आधिकारिकरुपमा आईफोन र आईप्याड मर्मत तालिम दिने

  • Technology Khabar | १७ चैत्र २०७७, मंगलवार
एप्पलले नेपालमा पनि आधिकारिकरुपमा आईफोन र आईप्याड मर्मत तालिम दिने

काठमाडौं ।

एप्पलले आफ्ना डिभाइसहरुको मर्मतका लागि विश्वभर नै इन्डिपेन्डेन्ट रिपेयर प्रोभाइडर (स्वतन्त्र मर्मत सेवा प्रदायक) कार्यक्रम सुरु गर्ने भएको छ। यो कार्यक्रम अन्तर्गत एप्पलका आधिकारिक मर्मत केन्द्र तथा अन्य मर्मतकर्ताका लागि एप्पलका डिभाइस मर्मतको आधिकारिक तालिम दिइन्छ।

कार्यक्रममार्फत् एप्पलका आधिकारिक मर्मत केन्द्रबाहेक साना मर्मत सेवा प्रदायकहरुले पनि एप्पलका आधिकारिक स्पेयर पार्टस्, तालिम तथा स्रोतसाधनहरु प्राप्त गर्नेछन्।

तर एप्पलका आधिकारिक मर्मत केन्द्रबाहेक साना मर्मत सेवा प्रदायकहरुले यो तालिममा भाग लिनका लागि एप्पल स्तरको मर्मत दक्षता हासिल गरेको हुनुपर्नेछ।

यो तालिम एप्पलको आधिकारिक वारेन्टी सकिएपछिको मर्मतका लागि दिइएको हो। वारेन्टी भएका प्रयोगकर्ताले एप्पलको आधिकारिक मर्मत केन्द्रमै र वारेन्टी सकिएपछि भने यस्ता तालिम लिएका स्वतन्त्र मर्मत सेवा प्रदायकहरुकोमा गएर आफ्ना डिभाइसहरु मर्मत गराउन सकिने कम्पनीको भनाई छ।

अन्य कुराहरु वारेन्टी अन्तर्गत परे पनि आईफोन वा आईप्याडका स्क्रीन फेर्न तथा पछाडिको भाग फुटेमा त्यसलाई मर्मत वा फेर्न परेमा यस्ता स्वतन्त्र मर्मत सेवा प्रदायकहरुकोमा जान सकिने र उनीहरुले पनि एप्पलका आधिकारिक सरह नै मर्मत गर्न सक्ने कम्पनीले जनाएको छ।

यो तालिममा भाग लिनका लागि छनोट हुनु आवश्यक छ तर कुनै शुल्क भने लाग्ने छैन। छनोटका लागि भने मर्मतकर्ताले एप्पलले प्रमाणित गरेको प्राविधिक भएको प्रमाणित गर्नुपर्ने हुन्छ।

प्रमाणीकरण प्रक्रियाका लागि तलको लिंकमा क्लिक गर्नुहोस्।

https://support.apple.com/repair/verify-repair-provider

कम्पनीले योग्यता प्रमाणित गर्न गरिने प्रमाणीकरणको प्रक्रिया पनि सजिलो र निशुल्क हुने जनाएको छ। यसका लागि छनोट भएका स्वतन्त्र मर्मत सेवा प्रदायकले पनि एप्पलको आधिकारिक मर्मत सेवा प्रदायकले पाउने दरमै आधिकारिक पार्टपुर्जाहरु खरिद गर्न सक्नेछन्। यस्तै उनीहरुले तालिम तथा मर्मतका म्यानुअल निशुल्क रुपमा प्राप्त गर्न सक्नेछन्।

यो कार्यक्रम पहिलो पटक अमेरिकामा सन् २०१९ मा सुरु भएको र त्यसको सफलतालाई मध्यनजर गर्दै कम्पनीले अहिले नेपाल लगायत २०० देशहरुमा विस्तार गर्न लागेको हो। यो कार्यक्रम अर्को साताबाट सुरु हुने जनाइएको छ।

स्वतन्त्र मर्मत सेवा प्रदायकका लागि तलको लिंकमा क्लिक गर्नुहोस्।

https://support.apple.com/irp-program

प्रकाशित: १७ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार