Technology Khabar २० फाल्गुन २०७७, बिहीबार
काठमाडौं ।
जापानका अर्बपति युसाकु माएजावाले मंगलबार आफ्नो डियरमून परियोजना अन्तर्गत सन् २०२३ मा आफूसँगै स्पेसएक्सको स्टारसिप रकेटमार्फत् चन्द्रमामा जान इच्छुक ८ जनाको खोजी गरिरहेको घोषणा गरेका छन्।
माएजावाले एउटा भिडियोमार्फत भनेका छन्, ‘म तपाईहरुलाई मेरो मिसनमा निमन्त्रणा दिँदैछु।’
सन् २०१८ मा स्पेसएक्सका संस्थापक एलन मस्कका साथमा यो मिसनको घोषणा गरेका माएजावाले त्यति बेलाको कलाकारलाई लिएर चन्द्रमाको कक्षमा जाने योजना अहिले बदलिएको बताएका छन्।

अब उनको त्यो डियरमून परियोजनामा १० देखि १२ जना यात्री रहने र तीमध्ये ८ जना माएजावाले छानेका सर्वसाधारणहरु हुनेछन्।
अर्बपति माएजावाले यो यात्राको सम्पूर्ण खर्च ब्यहोर्ने पनि बताएका छन्। माएजावाले आफ्नो जोजोटाउन नामक फेशन रिटेल कम्पनीबाट अर्बैा रुपैयाँ कमाएका थिए। उनले आफ्नो अधिकांश शेयर सफ्टब्याङ्कलाई बेचेर यो कम्पनीबाट सन २०१९ मा बिदा भएका थिए।

डियरमून परियोजनामा पृथ्वीबाट चन्द्रमामा पुग्न ३ दिन लाग्नेछ। त्यसपछि फर्किन अर्को ३ दिन लाग्नेछ। यस बारेमा एलन मस्कले ऐतिहासिकरुपमा चन्द्रमामा जाने पहिलो व्यक्तिगत मिसन भए पनि स्टारशिप रकेटले एपोलो मिसनले भन्दा बढी दूरी यात्रा गर्ने विचार व्यक्त गरेका छन्।
डियरमूनको वेबसाइटमा लेखिएको छ, ‘ यसका लागि प्रि-रजिस्ट्रेशनको म्याद मार्च १४ सम्म रहनेछ। यसका लागि आफ्नो नाम, देश, इमेल ठेगाना सहित एउटा प्रोफाइल पिक्चर पठाउनुपर्नेछ। त्यसपछि सुरुवाती छनोट चरण मार्च २१ तारिखमा सुरु हुनेछ। यसको निर्णायक अन्तरवार्ता र मेडिकल चेकअप भने मे महिनाको अन्त्यतिर हुनेछ।’
यसमा सहभागी हुनेका लागि मुख्य दुई शर्तहरु तोकिएका छन्
पहिलो, यात्राका लागि छानिने सहभागीले चन्द्रमामा पुगेपछि आफूले गरिराखेको कामभन्दा अझ धेरै वा ठूलो काम गर्न तयार रहनुपर्छ।

यसमा माएजावाले सोधेका छन्, ‘के तपाई चन्द्रमामा पुगेर अहिलेभन्दा ठूलो र अझै माझिएको काम गर्न सक्नुहुन्छ/तत्पर हुनुहुन्छ?’
दोस्रो, सबै यात्रुहरु अन्य सहभागीजस्तै अरु सहभागीहरुलाई सहयोग गर्ने र समझदारी कायम गर्ने खालको हुनुपर्दछ।
गर्ने होइन त प्रि-रजिस्ट्रेशन? के थाहा तपाईँ नै पो ती ८ जनामध्येको एक भाग्यमानी सावित हुनुहुन्छ कि ! एजेन्सीका साथमा
प्रकाशित: २० फाल्गुन २०७७, बिहीबार