
काठमाडौं ।
रुपन्देहीका पालिकाहरूले शिक्षकलाई सूचना प्रविधि तालिम दिएर विद्यालयको सूचना र प्रविधिमा पहुँच बढाउनुका साथै सिकाइ गुणस्तर बढाउने प्रयास थालेका छन् ।
जनप्रतिनिधि निर्वाचित भएर आएको तीन वर्षको अवधिमा जिल्लाका अधिकांश पालिकाले शिक्षकलाई सूचना र प्रविधिसँग जोड्ने अभियान नै थालेका हुन् ।
बुटवल उपमहानगर, तिलोत्तमा र सैनामैना नगरपालिकाले कक्षाकोठा चक डस्टर शून्य बनाउने अभियानसहित शिक्षकको सूचना पहुँच बढाउन तालिम दिइसकेका छन् ।
पछिल्लो पटक कञ्चन गाउँपालिकाले निजी तथा सरकारी विद्यालयमा अध्यापनरत शिक्षकलाई कम्प्युटर तालिम दिएको छ ।
गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गाउँपालिकाले शिक्षामा ठूलो लगानी गरेको भन्दै प्रविधिमैत्री शिक्षा अहिलेको आवश्यकता रहेकाले शिक्षकहरूलाई कम्प्युटर तालिम दिइएको बताए ।
गाउँपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयका ७४ जना शिक्षकको सहभागिता रहेको तालिममा सहभागी शिक्षकले कम्प्युटर तालिमबाट शिक्षण सिकाइमा ठूलो सहयोग पुगेको बताएका छन् । आजको गोरखापत्रबाट
प्रकाशित: १५ फाल्गुन २०७७, शनिबार