
काठमाडौं ।
विश्वका पाँच युवा उद्यमीको कथालाई समावेश गरी नेसनल जियोग्राफिक डकुमेन्ट्री फिल्म्सले निर्माण गरेको वृतचित्र ‘OWN THE ROOM’ मा नेपाली युवा उद्यमी सन्तोष पाण्डेको उद्यमी यात्राको कथा पनि समावेश भएको छ ।
पाण्डे नेपालमा पहिलोपटक सरप्राइज प्लानिङ्ग तथा गिफ्टिङ्ग सेवा भित्र्याउने कम्पनी अफरिङ्ग ह्याप्पिनेस प्रालिका सहसंस्थापक हुन् ।
सो कम्पनीले आफ्नो वेवसाइटमार्फत विगत ४ वर्ष देखि देश-विदेशमा बसोबास गर्दै आएका नेपालीहरुबीच गिफ्ट तथा सरप्राइज आदान-प्रदान गर्ने सेवा दिँदै आएको छ ।
एम्मी अवार्ड विजेताद्वय क्रिस्टिना कोस्ट्यान्टिनी र ड्यारेन फोस्टर द्वारा निर्देशित सो वृतचित्रको ट्रेलर फेब्रुअरी ९ मा सार्वजनिक भएको हो । अप्रिल २०१९ मा विश्वभरीका ५१ जना युवा उद्यमीहरुले ग्लोबल स्टुडेन्ड इन्टरप्रिनरसिप अवार्ड फाइनल्सका लागि प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतिस्पर्धीहरु मध्ये पाँचजना पृथक तथा प्रभावशाली उद्यम गर्दै आएका उद्यमीहरुको कथाहरुलाई समेटेर निर्माण गरिएको सो वृतचित्र मार्च १२ मा आधिकारिक रुपमा डिज्नेप्लसमा सार्वजनिक हुनेछ।
प्रकाशित: २७ माघ २०७७, मंगलवार