
काठमाडौं ।
नबिल बैंकको प्रस्तावित ३५.२६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न बैंकको ३६ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हालको चुक्ता पुँजीको ३३।५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश पाउने छन् । त्यस्तै, उक्त बोनस सेयर पश्चात बैंकको सेयर पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ नाघेको छ।
विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।
साथै, सभाले सर्वसाधारण सेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गरेका अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ ।
आव २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम नाफा ३ अर्ब ४६ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रतिसेयर आम्दानी ३६.१६ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३७ अर्ब रुपैयाँ पुर्याएको छ ।
साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले भने “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं । हामी ठूलो बैंकसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौं । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकालदेखि हालसम्म २१ अर्ब रुपैयाँ भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ ।”
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
प्रकाशित: २९ पुष २०७७, बुधबार