चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई ६८ वटा सिसिटिभी हस्तान्तरण

  • Technology Khabar | १४ मंसिर २०७७, आईतवार
चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई ६८ वटा सिसिटिभी हस्तान्तरण
फाइल तस्बिर

काठमाडौं ।

त्रिभुवन राजपथ अन्तर्गत कलंकी-नागढुंगा सडकखण्डको कलंकी ढुंगेअड्डादेखि नागढुंगा पिपला मोडसम्म चन्द्रागिरि नगरपालिकाको करिब १ करोड रुपैयाँको लागतमा जडान गरिएका अत्याधुनिक ६८ वटा सिसिटिभी हस्तान्तरण गरिएको छ ।

उक्त सिसिटिभि चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले शुक्रबार आयोजित एक कार्यक्रमबीच महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलमार्फत महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सिसिटिभी जडान आम नागरिकको विकास, समृद्धि र सुरक्षाको आकांक्षा पूरा गर्ने एउटा माध्यम भएको बताए ।

हरेक नागरिकको हर्कतलाई निग्रानी गरी चोरी, लुटपाट लगायतका सम्भाव्य अपराध न्यूनीकरण गर्न सिसिटिभी जडानले महत्वपूर्ण योगदान पुर्‍याउने उनले चर्चा गरे ।

हस्तान्तरण कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरिले सिसिटिभी जडानले सवारी दुर्घटना न्यूनीकरण गर्न मद्दत पुर्‍याउनुका साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित: १४ मंसिर २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...