वर्ल्डलिंक कम्युनिकेसन्सका सिस्टम इन्जिनियर नविन लिम्बुको कोरोना संक्रमणबाट निधन

  • Technology Khabar | २ मंसिर २०७७, मंगलवार

काठमाडौं ।

नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका सिस्टम इन्जिनियर नविन लिम्बुको कोरोनाभाइरस संक्रमणको कारण निधन भएको छ।

४५ वर्षिय उनको लक्ष्मी पुजाको दिन टेकु अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनलाई धरानमा ससुराको काजक्रियाको क्रममा सहभागी हुँदा संक्रमण भएपछि दशैंको टिकाको दिन अस्पताल भर्ना गरिएको थियो र त्यससँगै उनी टेकुमा उपचारको क्रममा थिए ।

उनलाई कोभिड-१९ को उपचारमा प्रयोग गरिने रेमिडिसिर दिईएको थियो भने प्लाज्मा थेरापीसमेत गरिएको बताईएको छ ।

कम्पनीमा उनी निकै ससक्त र दक्ष सिस्टम इन्जिनियरको रुपमा रहेका थिए र हाल सिस्टम म्यानेजरको रुपमा कार्यरत थिए । उनको निधनले नेपालको इन्टरनेट उद्योगकै एक ससक्त इन्जिनियर गुमाउनुपरेको कम्पनीले जनाएको छ ।

विशेषगरि उनी लिनक्स सिस्टम एडमिनिस्ट्रेसनका बृहत जानकारी र अनुभव भएका इन्जिनियर रहेका थिए । वर्ल्डलिंक कम्युनिकेसन्सका अनुसार उनी यसअघि इन्टरप्राइज सपोर्ट हेडको रुपमा २ वर्ष काम गरेका थिए ।

वर्ल्डलिंकमा काम गर्नुअघि उनी क्लासिक टेकमा टेक्निकल जनरल म्यानेजर थिए भने त्यसअघि उनले हिमाल टेक्नोलोजीमा समेत काम गरिसकेका थिए । उनी हेल्थनेट लगायतका सामाजिक संस्थाहरुमा समेत परामर्शदाताको रुपमा कार्यरत थिए ।

लिम्बुले काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स, कम्युनिकेसन्स इन्जिनियरिङ्गमा ब्याचलर गरेका थिए ।

उनको श्रीमतीसहित एक छोरा र एक छोरी छिन् ।

प्रकाशित: २ मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार