
काठमाडौं ।
राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूतावासमा ‘ई–सेन्सस’ समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ ।
नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै मानिस मानेर जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
यसलाई ‘ई–सेन्सस’ नाम दिइएको छ । यस्तो जनगणना पहिलो पटक गरिन लागेको हो । परराष्ट्र मन्त्रालयमार्फत इन्टरनेट कनेक्सन गरी विभागको वेबसाइटमा जोडेर जनगणना गरिने तयारी रहेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले जानकारी दिए।
जनगणना गर्दा विभागमा रहेका कर्मचारीले ट्याब्लेटबाट प्रश्नावली सोध्नेछन् । सफ्टवेयरमार्फत सीधै त्यो गणना डाटा सेन्टरमा प्रविष्ट गराइन्छ । सफ्टवेयर राख्ने प्रक्रिया अहिले जारी छ । त्यसका लागि आवश्यक कर्मचारी सोही प्रक्रियामार्फत भर्ना गरिँदै छ । ई–सेन्ससमा भाग लिँदा दूतावास, वाणिज्य दूतावास र अन्य कूटनीतिक निकायमा रहेका नेपाली कर्मचारीले नै सहजीकरण गरेर भर्ने व्यवस्था मिलाइएको छ । नेपालमा २५ वटा आवासीय दूतावास तथा विदेशी कूटनीतिक नियोग र ८२ वटा अस्थायी कूटनीतिक नियोग छन् ।
अनलाइन तालिम दिन सफ्टवेयर डिजाइन भइरहेको छ । यसको काम सकिएलगत्तै कर्मचारी भर्ना सुरु हुनेछ । यसपालि अनलाइन विधिबाट पारदर्शी ढङ्गले जनगणनाका सबै गतिविधि सार्वजनिक गरिएको छ । अहिले कोभिड–१९ सङ्क्रमणका कारण देशभर पुगेर गणक तथा सुपरभाइजरलाई तालिम दिने र पढाउन सकिने अवस्था छैन । त्यसैले ट्युटोरियल भिडियो निर्माण गरेर पढाउने व्यवस्था गरिँदै छ । सबै सामग्री प्रविधीकरण गरेर तयार गरिँदै छ । यसलाई युट्युबमा राखेर पढाइँदै छ । सकेसम्म प्रविधिको उच्चतम सदुपयोग गरेर जनगणना हरेक वर्गका लागि फलदायी बनाउने अभ्यास विभागले गरिरहेको छ ।
विभागले वेबसाइटसँगै सामाजिक सञ्जालको भरपूूर उपयोग गर्ने सोच राखेको छ । यसमार्फत आफ्ना कर्मचारीसँग सहजै पहुँचमा रहने र देशभर भइरहेको जनगणनाको जानकारी तत्कालै लिन सक्ने गरी आवश्यक तयारी भएको छ ।
महानगरमा ट्याब्लोइडबाट
प्रविधिमैत्री जनगणनाको उच्चतम नमुना काठमाडौँँ महानगरपालिका हुँदै छ । महानगरमा ट्याब्लोइडमार्फत जनगणना हुँदै छ । विगतमा जस्तो कागजी प्रश्नावली बोकेर घरघरमा गणकले सोध्ने छैनन् । सीधै प्रविधिमैत्री ट्याब्लोइडमा सोधिएका प्रश्नावलीको उत्तर डाटा सेन्टरमा प्रविष्ट हुनेछ । यसले करिब २५ लाख हाराहारीको जनसङ्ख्याको जनगणना छोटो समयमै सक्ने वातावरण सिर्जना गर्छ । आजको गोरखापत्रबाट
प्रकाशित: ८ कार्तिक २०७७, शनिबार